विमानस्थलबाट ८ किलो सुन बरामद

काठमाडौं । नेपाल एयरलाइन्सको विमान हुँदै हङकङबाट नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राति ११ बजे राहदानी बाहक दुई चिनियाँ नागरिकलाई ४÷४ किलो सुनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए । उपाध्यायकाअनुसार तस्करीको सुन बोक्ने मालिक वा भरिया को हुन् भन्ने खुल्न सकेको छैन ।

शरीरका सबै लुगा खोलेर चेक गर्दा पनि केही भेटिएन । तर मेसिनले सुन रहेको संकेत नै गरिरह्यो । प्रहरीले पुनः चेक ग¥यो । जब प्रहरीले दुई जनाको ‘अन्डरवयर’ चेक ग¥यो त्यसपछि खुल्यो सुन तस्करीको धन्दा । उनीहरूले अन्डरवयरमा फल्सबटम बनाएर आठ किलो सुन ल्याएको भेटियो । ‘सबैतिर चेक गर्दा केही भेटिएन पछि अन्डरवयरमा फल्सबटम बनाएर ल्याइएको रहेछ’ विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले भने ।

३३ किलो सुन प्रकरणपछि विमानस्थलमा सुरक्षा कडा बनाइएको थियो । त्यसयता पनि विभिन्न तरिका अपनाएर सुन तस्करी भइरहेको छ । यतिसम्म कि मलद्वार र जिब्रोमा लुकाएर समेत सुन ल्याइएको फेला परिरहेको छ । भन्सार कार्यालय र विमानस्थल प्रहरीले चार घण्टा लगाएर राति अनुसन्धान गरेको थियो । भाषाको समस्या हुँदा अनुसन्धानमा गाह्रो परेको भन्सार कार्यालयका प्रमुख ढकालले बताए ।

‘हामी र उनीहरूबीच भाषाको समस्या छ । दोभाषे भनेको समयमा नहुँदा समस्या आएको हो’ भन्सार प्रमुख ढकालले भने । सुन बोकेर नेपाल आएका उनीहरू यसअघि पनि पटक–पटक नेपाल आएको देखिएको छ । सन् २०१७ र ०१८ मा पनि उनीहरू नेपाल आएका थिए ।

प्रतिक्रिया