ठोरी हुलाकी सडकमा कालोपत्रे सुरु

वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रको लाइफलाइनको रूपमा परिचित हुलाकी सडक अन्तर्गतको ठोरी खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ । दशैंअगावै हुलाकी सडक कालोपत्रे गर्ने तयारी गरेको ठेकेदार बानियाँ निर्माण कम्पनीले मंसिरको पहिलो सातादेखि कालोपत्रे गर्न थालेको हो । निर्माण कम्पनीले वीरगञ्ज–ठोरी सडकखण्ड अन्तर्गतको ठोरी–४ मालीबस्तीदेखि कालोपत्रे गर्न पहिलो चरणको प्राइम कोट (अलकत्रा बिछ्याउन) थालिएको छ । प्राइम कोट गरेपछि त्यसको करीब २ सातापछि डिपिएम र अस्फाल्ट बिछ्याएर सडक कालोपत्रे गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कम्पनीले सुवर्णपुरको गमहरियादेखि विजयबस्तीसम्म बेस बिछ्याएर कालोपत्रेको लागि सडक तयारी पारेको छ । त्यस्तै, विशालचोकदेखि आठघरेसम्म द्रुतगतिमा बेस बिछ्याइरहेको छ । चमरीहोलदेखि दशैंअगाडि नै पिच गर्ने तयारी गरेको भए पनि सडकको बीच भागमा परेको बिजुलीको पोल प्राधिकरणले समयमा नहटाउँदा पिच गर्न नसकिएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले बताए । उनले प्राधिकरणले तत्काल पोल हटाउने जानकारी गराएकोले पोल हटाउनेबित्तिकै चमरीहोलदेखि नै कालोपत्रेको काम थालिने बताए । ठोरीको चमरीहोलदेखि चौतारासम्म हुलाकी सडक निर्माणको ठेक्का सकारेको कालिका र बानियाँ जेभीले काम थालेको २२ महिनापछि कालोपत्रे गर्ने काम थालेको हो ।

यस आर्थिक वर्षमा चमरीहोलदेखि ठुटेखोलासम्मको २२ किमि सडकखण्डमा पिच गरिसक्ने निर्माण कम्पनीको लक्ष्य रहेको फिल्ड इन्चार्ज न्यौपानेले बताए । कम्पनीले कालोपत्रेका लागि ठोरीमा प्लान्ट नै राखेको र निर्माण सामग्री सबै तयारी हालतमा रहेकाले यसै वर्ष ठुटेखोलासम्म पिच भइसक्ने उनको दाबी छ । ३० महिना अवधिमा सडक निर्माण गर्ने सम्झौता गरेको कम्पनीले ८ महिना बाँकी छँदा करिब ५ किमि सडकमा कालोपत्रे गर्न सम्पूर्ण तयारी गरेको छ ।

प्रतिक्रिया