‘चपली हाइट–३’ २८ चैतमा

काठमाडौं । निकेश खड्काले निर्देशन गरेको संस्पेन्स थ्रिलर चलचित्र ‘चपली हाइट–३’ को रिलिज मिति तय गरिएको छ । निर्माता अर्जुनकुमार र निर्देशक खड्काले छायांकनस्थलबाटै रिलिज मिति घोषणा गरे । यो चलचित्र २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीअनुसार काम भइरहेको छ ।

निर्माता अर्जुन कुमारले भने, ‘छायांकनमा जानुभन्दा पहिले नै रिलिज डेट घोषणा गर्ने योजना थियो । तर, प्राविधिक काम कस्तो होला भन्ने दोधार थियो । छायांकनको पाँचाँै दिनसम्म आइपुग्दा ‘चपली हाइट–३’ ले रफ्तार समातेको छ ।’ उनले चलचित्र पूर्णरूपमा तयार हुन धेरै समय नलाग्ने भएकाले चैतमा प्रदर्शन मिति तोकिएको बताए । उनले आगामी नयाँ वर्षलाई लक्षित गरेर प्रदर्शनमा आउन लागेको यो चलचित्र मा दर्शकका लागि उपहार हुने जिकिर गरे । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठको मुख्य अभिनय रहने छ ।

यसैबीच व्यापारिकरूपमा सफल चलचित्रका रूपमा चिनिएको ‘प्रेमगीत’ र ‘चपली हाइट’ को सिक्वेल बनिरहेका छन् । यी दुवै चलचित्रको तेस्रो शृंखला अब एकैदिन प्रदर्शनमा आउने निश्चित भएपछि व्यापारमा प्रभाव पार्ने अनुमान गरिएको छ । ‘प्रेमगीत–३’ ले ६ महिनाअघि नै चैत–२८ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको निर्माण पक्षले जनाएको छ । यसैबीच यही मितिमा चलचित्र ‘चपली हाइट–३’ पनि प्रदर्शनमा आउने पक्का भएको छ ।

छायांकनका क्रममा रहेका यी दुवै चलचित्रमा कसले बाजी मार्ने हुन् त्यो गर्भको विषय छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरिरहेको ‘प्रेमगीत–३’ मा अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ, अभिनेत्री कृष्टिना गुरुङ, सुनिल थापा, लक्ष्मी बर्देवा, माओत्से गुरुङ लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया