महिला भलिबलमा सुखद सुरुआत

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सानदार सुरुवात गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५–९, २५–९ र २५–११ ले हाराएको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुआतदेखि नै दबाब कायम गरेका थिए ।

बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५–९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुआती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको हार टार्न सकेन ।

प्रशिक्षक जगदीश भट्टले खेलको दोस्रो सेटपछि दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएका थिए । दोस्रो सेटको अन्तिम समयतिर कोर्ट प्रवेश गर्दै स्पाइकर उषा भण्डारीले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । उनीसँगै सेन्ट्रल जोन प्रतियोगिताका गुमाएकी हिरा केसी पनि दोस्रो सेटमा नै कोर्ट प्रवेश गरेकी थिइन् ।

नेपालले पहिलो सेटमा सुरुआती समयम १५–४ को अग्रता कायम गर्दै दबाबमा राखेको थियो । लगातार नेपाल हाबी बन्दै सहज जित हात पार्यो । पहिलो सेटमा सरस्वती चौधरीको प्रर्दशन अब्बल रह्यो । दोस्रो सेटमा प्रतिभा मालीले उत्कृष्ट प्रर्दशन गरिन् । नेपाली स्पाइकर र सेटरले प्रहार गरेको सट बंगलादेशका खेलाडीलाई उठाउँनै मुस्किल परेको थियो । नेपालले सर्भिसमा भने केही गल्ती गर्न पुग्यो ।

समूह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा बिहीबार स्वर्णको दाबेदार भारतसँग खेल्ने छ ।

प्रतिक्रिया