नाफामा तस्बिर प्रदर्शनी

काठमाडौं । नेपाल र जापानको सांस्कृतिक तथा भुजिङ माइक्रो हाइड्रोपावरका विविध गतिविधि झल्किने तस्बिर प्रदर्शनी सुरु भएको छ । हाइड्रोपावर स्थापनाको २० औँ वर्षगाँठको अवसरमा नेपाल टोकुसिमा जापान फ्रेण्डसिप तथा टोकुसिमा नेपाल फ्रेन्डसिप एसोसिएसनद्वारा आयोजित फोटो प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सुरु भएको हो ।

दुई दिने उक्त प्रदर्शनीमा जापान र नेपालको सांस्कृतिक पक्ष, भुजिङ माइक्रो हाइड्रोपावरको गतिविधि तथा विभिन्न रोप वे लगायतका तस्बिर राखिएको छ । त्यसैगरी सो अवसरमा काठमाडौं उपत्यकाका विभिन्न २० विद्यालयका विद्यार्थीका चित्रकलासमेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दोस्रो विश्वयुद्धको घटनाबाट अप्ठयारोमा परेको जापानले त्यस अप्ठेरोलाई चिर्दै छोटो अवधिमा गरेको आर्थिक विकासबाट नेपालले पनि सिक्न सक्ने भनाइ राखे ।

उनले भने, ‘जापानको जनताको जीवनस्तर उकास्न गरेको आर्थिक विकासको अनुभवलाई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा जुटिरहेको नेपालले पनि व्यवहारमा उतार्नुपर्दछ ।’ मन्त्री पोखरेलले सरकारले शिक्षालाई पूर्वाधार र विज्ञानलाई विकासको आधारको रुपमा मानेको बताए ।

टोकुसिमा नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष यासुताका तानागुचीले भुजिङ माइक्रो हाइड्रोपावर प्रोजेक्ट बनाउन स्थानीय जनताले सहयोग गरेको कारण उद्देश्य सफल भएको बताए । उनले त्यस गाउँमा जापान सरकारले परियोजना पूरा गरी बिजुली उत्पादन गर्नुका साथै विभिन्न रोप वेको पनि निर्माण कार्य पूरा गरेको जनाए । नेपाल टोकुसिमा जापान फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले नेपालले जापानलाई मित्रको रूपमा पाउँदा गौरवको अनुभूति भएको बताए । उनले भने, ‘दुई मुलुकबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध मजबुत रहेको छ ।’

प्रतिक्रिया