जस्टिनको यादमा ट्याटु

एजेन्सी, न्युयोर्क । एकताका अमेरिकी चर्चित गायिका सेलेना गोमेज र अर्का गायक जस्टिन बिबरबीचको प्रेमसम्बन्ध निकै चर्चाको विषय हुन्थ्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीहरूले विवाह गर्नेसमेतका खबर प्रकाशित तथा प्रसारित गरे । तैपनि उनीहरूको आपसी मनमुटावका कारण त्यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।

यसैबीच, हालसालै गायिका सेलेनाले एक तस्बिर सामाजिक सन्जालमा पोस्ट गर्दै भर्खरै खोपेको ट्याटु आफ्ना शुभचिन्तक माझ सार्वजनिक गरेकी छन् । उनले आफ्नो तिघ्रामा दुई हात जोडेको ट्याटु बनाएकी छन् । यतिवेला सोही ट्याटुका कारण गायिका सेलेना र गायक जस्टिनको नाम जोडेर नयाँ चर्चाको सुरु भएको छ ।

उनले खोपाएको ट्याटु जस्टिनको खुट्टाको ट्याटुजस्तै छ । जस्टिनको खुट्टामा पनि दुई हात जोडेको ट्याटु खोपिएको छ । साथै, जस्टिनले कुनै समय एक विज्ञापनका लागि हात जोडेर फोटोका लागि पोज दिएका थिए । ट्याटु ठ्याक्कै त्यस्तै छ । सेलेनाले जस्टिनकै सम्झनामा उनकै जस्तो ट्याटु खोपेको यतिवेला अनुमान गर्न थालिएको छ । सेलेनाले जस्टिनलाई भुल्न नसकेको टिप्पणी भइरहेको छ । गायक जस्टिनले भने विवाह गरिसकेका छन् ।

प्रतिक्रिया