नक्कली खाताबाट ३३ करोड ठगी

काठमाडौं । कृषि विकास बैंकका एक शाखा अधिकृत नक्कली नागरिकताबाट खाता खोलेर करोडौं रकम हिनामिना गरेका छन् । बैंककै रकम अवैध तरिकाले आफ्नो खातामा हालेर कारोबार गरेका शाखा अधिकृत केदारप्रसाद गौतमसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आठै जनाविरुद्ध दाबी गरिएको कुल बिगो रकम २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ रहेको छ । गौतमले कृषि विकास बैंकको स्वयम्भु कार्यालयमा १० महिना रहँदा करिब ३४ करोड रकम अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

कृषि विकास बैंकको स्वयम्भु शाखामा कार्यरत गौतमले अरू कर्मचारीहरूको समेत काम आफैँ गरिदिने र सहयोगी स्वभावका थिए । सबैको काम गरिदिने भएकाले अरू सहकर्मी (बैंकका अरू टेलर) ले समेत उनलाई आफ्नो युजर नेम र पासवर्ड दिन्थे । सुरुमा अरूको काम गरिदिएका उनले पछि भने त्यसैको दुरुपयोग गरेर अरूको नामको अनि बैंकमा रहेको रकम आफूले खडा गरेको खातामा ट्रान्सर्फर गरेको खुलेको हो । २०७१ साल असोजदेखि २०७२ साल असारसम्म १० महिनाको अवधिमा उनले ३३ करोड ९३ लाख रुपैयाँ ‘तेज बहादुर थापा’को नाममा सारेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट तेजबहादुर थापा भन्ने फर्जी नाममा उनले नागरिकता लिएको देखिएको छ । सोही नक्कली कागजात खडा गरी गौतमले बैंकमा खाता खोलेका हुन् । अख्तियारले गौतममाथि ‘झुठा विवरण पेश गरी नागरिकता बनाएको’ आरोप पनि लगाएको छ । बैंक खाता खोलेपछि धमाधम बैंकको रकम थापाको नाममा ट्रान्सफर गरिरहे । आफ्नो अनियमितता सार्वजनिक हुने डर भए पनि गौतमले थापाकै नाममा पासपोर्ट बनाई विदेश जाने योजना बनाएका थिए । नेपालबाट भागेर भारतमा लुकेको अवस्थामा प्रहरीटोलीले उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो ।

अख्तियारले बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँमाथि पनि मुद्दा चलाइएको छ । उनीमाथि आर्थिक कारोबार, कर्मचारीहरूको रेखदेख र नियन्त्रण अनि व्यवस्थापन गर्न नसकेको आरोप छ । अनि केदारप्रसाद गौतमले खडा गरेको तेजबहादुर थापाको खाताबाट उनकी पत्नी सम्झना पोखरेल गौतमले पैसा निकाल्ने, कारोबार गर्ने र कर्जा तिर्ने गर्थिन । अख्तियारले गौतमकी पत्नी सम्झनालाई पनि मुद्दा लगाएको छ । उनकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमलाई पनि प्रतिवादी बनाएको छ ।

गौतमसँग कारोबार गर्ने सुमन भुजेल र सन्दिप गुप्तालाई नक्कली नागरिकता बनाउन सघाएको आरोपमा सूर्यबहादुर लिम्बु र कृष्णहरि थापामाथि समेत मुद्दा चलाएको छ । आरोपितहरूमाथि बैंकिङ कसुरको आरोपमा मुद्दा चलिसकेको छ भने सरकारी बैंकमा अनियमितता गरेकाले भ्रष्टाचारको आरोपमा समेत छानबिन भएको हो । उनीहरूमाथि किर्ते नागरिकता लिएको आरोपमा समेत भक्तपुरबाट छानबिन हुने भएको छ ।

प्रतिक्रिया