आत्मानन्द कप ११ मंसिरदेखि

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा ११ मंसिरदेखि १२ औँ संस्करणको आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ जन्मोत्सवका अवसरमा ११ देखि १७ मंसिरसम्म फुटबलसहित किरातजन्य विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो । विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङदेनको जन्मोत्सवमा विभिन्न खेलकुद कार्यक्रमको तय गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । माङसेबुङ ५ स्थित माङसेबुङ खेलमैदानमा हुने आत्मानन्द कपमा फुटबल, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुने उनले बताए ।

फुटबलतर्फ पूर्वका इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहनेछ । अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टीङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता रहनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी म्याराथुनतर्फ प्रथमले नगद १० हजार १ सय ६५, द्वितीयले ८ हजार १ सय ६५ रुपैयाँ पाउनेछ । धनुषकाँड, छेलो, स्लो मोटरसाइकल दौडका विजेता र उपविजेतालाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतिक्रिया