देउवाको बोली प्रत्युपादक

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पटक–पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले शनिबार दिएको अभिव्यक्ति अहिले आफैँले आफैँमाथि तातोपानी खन्याएजस्तो भएको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर उनले एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरे । यो अभिव्यक्ति कार्यकारी राष्ट्र प्रमुख तथा प्रधानमन्त्री ओलीविरुद्ध व्यक्तिगत लाञ्छनाका रूपमा मात्र होइन, बरु सिंगो राष्ट्रियतासँग जोडिएर सार्वजनिक भयो । देउवाले वर्तमान प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै दिल्लीले नेपाली भूभाग हडपेको नक्सा सार्वजनिक गरेको हो भनी बोलिदिए । उपनिर्वाचनको सन्दर्भमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसलाई भोट माग्दै गर्दा उनले यो असान्दर्भिक र आपत्तिजनक अभिव्यक्ति किन दिए सबैका लागि यो निकै सोचनीय विषय बनेको छ ।

छिमेकी देश भारतले कालापानी क्षेत्रलाई आफ्नो भूभागमा राखेर नयाँ नक्सा सार्वजनिक भएलगत्तै नेपालमा त्यसको देशव्यापी विरोध सुरु भयो । प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल तथा पक्षहरूलाई बोलाएर सर्वपक्षीय राष्ट्रिय भेला आयोजना गरे । भेलाले एकमतका साथ प्रधानमन्त्री ओलीलाई राष्ट्रिय एकताको प्रतिबद्धतासहित कुटनीतिक पहलमार्फत यो समस्याको समाधान गर्न सुझाए । ओलीले नेपालको एक इन्च जमिन पनि मिच्न नदिइने बताए । प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा नेपालले कसैको एक इन्च भूमि पनि नलिने र आफ्नो एक इन्च भूमि पनि अरूलाई नदिने भनी सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । योसँगै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा रहेका विदेशी फौज तुरन्त हटाउन आग्रहसमेत गरे । त्यो ठाउँमा नेपाली फौज राखिने पनि उनले बताए । हुन त पछिल्लो केही समयदेखि देउवा धेरै विवादास्पद कुराहरू बोल्दै र आलोचित हुँदै आइरहेका छन् । रौतहट राजपुर फरहदवामा भएको बम विस्फोटपछि प्रमाण नष्ट गर्नका लागि जिउँदै मान्छेलाई इँट्टाभट्टामा हालेर सामूहिक हत्या गर्ने कांग्रेसी नेता तथा सांसद मोहमद अफताव आलम गिरफ्तार भएलगत्तै उनको बचाउका लागि देउवाले निकै विवादास्पद अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचना भएपछि देउवाले आफ्नो कमजोरी स्वीकार गर्दै थप विज्ञप्ति पनि जारी गरेका थिए । यो आलोचनाको विषय भर्खरै सेलाएका वेला देउवाले गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिएपछि उनी फेरि विवाद र आलोचनाको भुमरीमा फसेका छन् । यो अभिव्यक्तिको पनि उनले खण्डन गर्नु पर्ने देखिन्छ । या त यसलाई सत्यतामा परिणत गर्न विश्वासिलो तर्क पेस गर्नुपर्ने छ ।

देउवामाथि आरोप छ कि उनी प्रधानमन्त्री भएका वेला आफ्नो पद टिकाइरहन ‘लम्पसार’ परेका थिए । नेपालमा नाकाबन्दी आइलाग्दा ‘चुँ’ सम्म बोलेका थिएनन् । कालापानी मिचिएको कुरा तत्कालीन नेकपा एमालेका नेता प्रेमसिंह धामीले संसदमा उठाएर यसको समाधानका लागि आग्रह गरिरहँदा उही भूगोलमा सालनाल गाडेका देउवालाई कालापानीको पीडाले कतै पनि छोएको थिएन । तर, त्यही सामूहिक जनादेश र प्रतिबद्धतालाई कार्यान्वयन गर्न कुटनीतिक पहलका साथै नेपाल–भारतबीच द्विपक्षीय वार्ताको समेत जरुरी हुन आउँछ । यसमा नेपालीहरूबीच एकता र सरकारी कुटनीतिक पहलमा ऐक्यबद्धताको खाँचो छ । यसका लागि अडान, निरन्तर पहल, आत्मसंयम र दृढ निश्चयी बन्नु जरुरी छ । भावना, उत्तेजना र बहकाउले यसमा काम गर्ने देखिँदैन । राष्ट्रियता र राष्ट्रिय एकतासँग जोडिएको सीमा विवाद समाधानका लागि सबै दल र सबै पक्ष र नेपाली जनताको एकता जरुरी छ । तर, यसको मर्मविपरीत पूर्वप्रधानमन्त्री तथा हाल प्रतिपक्ष दलका नेता देउवाले दिएको असुहाउँदो र स्तरहीन अभिव्यक्तिले आखिरमा उनले आफैँलाई खुइल्याएका छन् । उनले यो चुनावी भाषण मात्र हो भनेर यी कुरा सच्याउन सक्लान् । तर, त्यतिखेर निहित स्वार्थका लागि यिनी जे पनि बोल्छन् भन्ने कुरा नेपाली समाजमा स्थापित भइसकेको हुनेछ । यो अरूका लागि उनकै लागि घातक र प्रत्युपादक हुनेछ ।

प्रतिक्रिया