सरकारबाट बाहिरिएन समाजवादी पार्टी

काठमाडौँ । सरकारले मन्त्रालय फेरबदल गरेपछि सरकारसँग रुष्ट बनेको समाजवादी पार्टी सरकारबाट बाहिरिने निक्कै चर्चा थियो । तर पछिल्लो समयको जानकारी अनुसार सरकारमै रहने भएको छ । मन्त्रीपरिषद् फेरबदल हुँदा पहिला स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पीएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेकोले समाजवादीका नेताहरुले असन्तुष्टि जनाएर सरकारबाट बाहिरिने चर्चा चलेको थियो । सोही असन्तुष्टि भएसँग समाजवादी पार्टी सरकारबाट हट्नसक्ने धेरैको अनुमान पनि थियो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले सरकारबाट बाहिरिनुपर्ने दवाव दिएका थिए ।

पदाधिकारी बैठकमा पनि अध्यक्ष भट्टराई लगायतका नेताहरुको धारणा सरकार छाड्दा नै बेस भन्ने आयो । भट्टराईबाहेकका अरु नेताले पनि यादवलाई सरकार छोड्नु उपयुक्त हुने रायसुझाव दिएका थिए । ‘अपमान सहेर बस्नुभन्दा बाहिर निस्केर संविधानसभाका लागि सडकबाट सरकारलाई दवाव दिँदा उचित हुन्छ,’ अधिकांश पदाधिकारीहरुको सुझाव थियो ।

पदाधिकारीको कुरा सुनेपछि बैठकमा अध्यक्ष यादवले पनि सरकारले अपमानपूर्वक मन्त्री र मन्त्रालय हेरफेर गरेको भन्दै आफू सरकार छाड्ने मनस्थितिमा पुगेको सुनाएका थिए । त्यसका लागि आफूले मन्त्रीक्वार्टरबाट केही सामान समेत सारेको उनको भनाइ थियो । तर पछिल्लो यसमा हतार गर्नुहुँदैन भन्दै सरकारमै रहने स्रोतले जनाएको छ ।

प्रतिक्रिया