जगमानलाई सूर्यमणि पुरस्कार

कास्की । नेपालको संस्कृति तथा इतिहासका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङलाई सम्मान गरिएको छ । प्राडा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानले ५१ हजार रुपैयाँसहित इतिहास तथा संस्कृतिविद् अधिकारीको ७१ औँ जन्मजयन्तीका अवसरमा उपकुलपति गुरुङलाई प्रदान गरियो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार हस्तान्तरण गरे ।

मुख्यमन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेश कला, साहित्य र इतिहासले सम्पन्न भएकाले त्यसलाई जोगाउन प्रदेश सरकार प्रतिबद्ध छ ।’ उनले प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयकदेखि एकीकृत ग्राम बनाउने योजना रहेको बताए । कार्यक्रममा उपकुलपति गुरुङले प्राडा. अधिकारी एक विज्ञान पृष्ठभूमिका इतिहासकार भएको बताए । उनले भने, ‘अधिकारी र म पिएनदेखिका सहपाठी हौँ । योगी नरहरिनाथले बटुलेका इतिहासका तथ्यहरू केही अधुरा थिए ।

तर, उहाँले पछि खोज अनुसन्धान गरेर पूरा गरे ।’ उक्त पुरस्कारका लागि प्राडा. दिलबहादुर क्षेत्रीको संयोजकत्वमा डा. बाबुराम अधिकारी, महेश अधिकारीको प्रतिभा छनोट समितिले गुरुङलाई सिफारिस गरेको हो । २००३ माघ २१ गते कास्की याङ्जाकोटमा जन्मिएका गुरुङले इतिहास तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन् । त्यस्तै, प्राडा. अधिकारी चितवनबाट विद्यावारिधी गर्ने पहलिो व्यक्ति हुन् । उनको निधन ०६२ जेठ १२ गते भएको थियो । बाबुको सम्झनामा उनकी छोरी इन्दिरा अधिकारी कोइरालाले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् । अक्षयकोषबाट प्राप्त रकमबाट प्रत्येक वर्ष एक अनुसन्धातालाई सम्मानित गरिने प्रतिष्ठानकी समेत रहेकी अध्यक्ष कोइरालाले बताइन् ।

प्रतिक्रिया