पुलिस चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता भ्याली च्यासल युथ क्लबको चुनौती पन्छाउँदै विभागीय नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  पुलिसले डिफेन्डिङ च्याम्पियन च्यासमाथि १–० को जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसको जितमा सुमन लामाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा पुलिसले खेलको १७औँ मिनेटमा अग्रता लिएको थियो । हुलमुलमा बक्सभित्रबाट सुमन लामाले गरेको प्रहार गोलरक्षक तथा कप्तान एलेन न्यौपानेले जज गरेपनि बचाउन सकेन ।

खेलको १३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । रवि पासवानको पासमा पेनाल्टी बक्सभित्र जुमानुले बल भेट्न सकेन । २९औँ मिनेटमा च्यासलका सुशान्त लामाको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए । ३३औँ मिनेटमा सुमन लामाको प्रहारलाई गोलरक्षक एलनले सहजै बचाए । पहिलो हाफमा १–० ले पछि परेको च्यासलले दोस्रो हाफमा सुधारिएको खेल पस्के पनि अग्रपंतिm लगातार चुकिरह्यो ।

५७औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । बक्सभित्रको प्रहार दोस्रो बारबाट थोरै बाहिरिएको थियो । ६४औँ मिनेटमा च्यासलले बराबरी गर्ने मौकामा पुलिसका गोलरक्षक शत्रुघन चौधरी बाधक बने झन्डै ४० यार्डमा प्राप्त फ्रिकिकमा सुशान्तको प्रहार गोलरक्षकले मुस्किलले डाइभिङ पञ्च दिँदै बचाएका थिए । ७९औँ मिनेटमा सुनल खड्काको प्रहार पनि गोलरक्षकले विफल पारिदिए ।

च्यासलले अन्तिम १० मिनेट पुलिसलाई दबावमा राखेपनि गोल गर्न नसक्दा च्यासल पहिलो खेलबाटै घर फर्कन बाध्य बन्यो । गोलकर्ता पुलिसका सुमन लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनलई म्यान अफ दि म्याचको अवार्ड र पाँच हजार रुपैयाँ चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रदान गरे । अब पुलिसले सेमिफाइनलमा बिगे्रग ब्वाइज क्लब (बीबीसी) सँग १० मंसिरमा प्रतिस्पर्धा गर्नेछ ।

बिबिसीले विभागीय त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । आइतबार अन्तिम क्वार्टरफाइनलमा नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया