सुन्तला उत्पादन सात प्रतिशतले बढ्यो

पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष सात प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष झन्डै तीन हजार ६५० मेट्रिक टन सुन्तला उत्पान हुने भएको हो । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र असिनापानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बढ्ने देखिएको केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ । गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले वृद्धि भएको थियो ।

पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको रेग्मीले जानकारी दिनुभयो । किसानले मल, किटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको रेग्मीले बताए । कृषकले व्यावसायिकरूपमा खेती गर्न थाल्नु, सुन्तला खेती गर्ने क्षेत्रफलसमेत वृद्धि हुँदै जानुले वर्षेनी उत्पादन बढ्दै गएको रेग्मीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला क्षेत्रको रूपमा विकास गरिएको छ । जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा झन्डै यस वर्ष पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ, भने मोदी गाउँपालिका–२ देउपुरमा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । यी दुईवटै गाउँका कृषकको मुख्य पेसा नै सुन्तला बनेको छ ।

पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौं, काँकडभिट्टा, बुटवललगायतका सहरमा निर्यात हुँदै आएको छ । कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईंले बताए । जलजलाको बाँसखर्कमा माघ लागेपछि मात्र सुन्तला टिप्न सुरु हुन्छ । अन्य क्षेत्रबाट पनि सुन्तला बिक्री सुरु भइसकेको कृषकले जनाएका छन् । यस वर्ष बोटबाटै प्रति किलो ६० का दरले सुन्तला बिक्री हुन थालेको देउपुरका कृषक बाबुराम शर्माले जानकारी दिए । केन्द्रका अनुसार गत जेठमा परेको असिनापानीका कारण कुश्मा नगरपालिका–११ पकुवाको छापा र मोदी–५ बाजुङमा क्षति पु¥याएको थियो ।

प्रतिक्रिया