महरा पुगे उच्च अदालत

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध निवेदन लिएर उच्च अदालत पुगेका छन् । आफ्नै सचिवालयकी कर्मचारीलाई करणी उद्योग गरेको आरोपमा पूर्पक्षका लागि सदरखोर डिल्लीबजारमा रहेका महरा बिहीबार उच्च अदालत पाटन पुगेका हुन् ।

उनले साधारण तारेखमा बस्न पाँउ भन्दै उच्च अदालतमा दिएको निवेदनको पेशी शुक्रबारलाई तोकिएको छ । उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार निवेदन दर्ता भएको जानकारी दिए । ‘महराको मुद्दा शुक्रबार पेश हुन्छ । सुरु आदेश बदर गरी साधारण तारेखको माग राख्दै निवेदन दर्ता भएको हो,’ दाहालले भने, ‘अदालतले कैफियत प्रतिवेदन मगाएर अध्ययनपछि मुद्दा अघि बढछ । दुई महिनासम्म समय लाग्न सक्छ अन्तिम आदेश हुन ।’

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो । अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो । सो मुद्दामा जिल्लाले उनलाई पुर्पक्षका लागि जेल पठाएको थियो । करणी प्रयास गरेको विषय पीडित महिलाबाटै बाहिरिएपछि उनले असोज १४ गते सभामुखको पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया