चीनले बढायो भारतीय पर्यटकको शुल्क

नेपालको बाटो हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरूङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् ।

उक्त सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७ सय ८० अमेरिकी डलर एकैपटक बढाएको छ । उक्त कम्पनीले अन्य देशबाट जाने पर्यटकका लागि भने रकम बढाइएको छैन । व्यवसायका लागि सुरूमा नै एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानुनले दिएको छैन ।

नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरूङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रूपैयाँ, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रूपैयाँ र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रूपैयाँ लिँदै आएका थिए ।

चीनको फरएन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरूङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ८५ हजार भारतीय रूपैयाँ, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा तीन लाख १० हजार भारतीय रूपैयाँ र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा दुई लाख ६० हजार भारतीय रूपैयाँ तिनुपर्ने भएपछि समस्यामा परेका हुन् ।

नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरूङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रूपैयाँ, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रूपैयाँ र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रूपैयाँ लिँदै आएका थिए

कैलाशयात्रा संघका अध्यक्ष नारायण पोखरेल कैलाशयात्राका लागि वार्षिक १० प्रतिशत बढाउन पाउने भए पनि एकैपटक ३२ देखि ४० प्रतिशतसम्म बढाउँदा नेपाली व्यवसायी मर्कामा परेको बताउँछन् । किन एकैपटक त्यति धेरै शुल्क वृद्धि भयो भन्नेबारे व्यवसायीहरूले बुझन सकेका छैनन ।

भारतबाट नेपाल हुँदै वार्षिक २० हजार पर्यटक कैलाश जाने गरेका छन् । नेपाली भने वर्षको एक हजार हाराहारीमा कैलाश मानसरोवर धार्मिक यात्रामा निस्कने गरेका छन् । चीनको फरएन एक्सचेन्ज सेन्टरले हाल कैलाश पठाउँदै आएका ३४ टुर्स कम्पनीमध्ये १० वटा मात्र कम्पनीले कैलाशयात्राका लागि पठाउन पाउने व्यवस्था गरेपछि झन् समस्यामा परेका छन् । ठूला व्यवसायीले भने भारतबाट नै कैलाश यात्रामा पठाउँदा नेपालका व्यवसायलाई झन् समस्या पर्ने गरेको छ ।

कैलाशयात्राका लागि यात्रामा गएका पर्यटक आफू फर्कने समयभन्दा अगाडि फर्कन चाहेमा दिनको एक सय अमेरिकी डलर र पठाउने कम्पनीले सानातिना कमजोरी गरेमा १० हजार अमेरिकी डलरसम्म सजाय दस्तुर तिनुपर्ने बाध्यकारी परिस्थिति बनाइएको छ ।

नेपालको टुर्समार्फत भारतीय पर्यटक कैलाशयात्रामा पठाउँदा नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यवसायीले लिएका छन् । उक्त सेन्टरले नेपालका रमेश ओझा सञ्चालक रहेको ओझा होलीडेज प्रालि, प्रचण्ड मानन्धर सञ्चालक रहेको एक्सप्लोर भ्याकेसन, राजन श्रेष्ठ सञ्चालक रहेको कैलाश जर्निज र वसन्त बराल सञ्चालक रहेको नमस्ते होलिडेज प्रालिसँग मात्र कैलाशयात्राका लागि सम्झौता गरेको छ ।

‘३४ वटा टुर्स कम्पनीले कैलाशयात्रा पठाउँदै आएकोमा १० कम्पनीलाई मात्र कैलाश पठाउनका लागि अनुमति दिनु र वार्षिक ठूलो संख्यामा कैलाश जाने भारतीय पर्यटकलाई कैलाशयात्रामा रकम बढाउनुले पनि हामीलाई व्यवसायबाट वञ्चित गर्न खोजिएको स्पष्ट हुन्छ’, अध्यक्ष पोखरेल भन्छन् ।

चार व्यवसायी कम्पनीले कैलाशयात्रा संघमा आबद्ध अरू व्यवसायी कम्पनीसँग छलफल नै नगरी चीनको फरएन एक्सचेन्ज सेन्टरसँग सम्झौता गरेपछि संघले ती चार कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।

कैलाशयात्राका लागि भारतीय पर्यटकका लागि नेपाली व्यवसायीले साझेदारका रूपमा चीनको फरएन एक्सचेन्ज सेन्टरसँग काम गरेका थिए । सुरुका दिनमा चीनको चाइना–इन्डिया पिलग्रिम्स सेन्टरसँग काम गरेका नेपाली व्यवसायीले उक्त सेन्टरले राम्रो सेवा प्रदान गर्न नसकेपछि फरएन एक्सचेन्ज सेन्टरसँगको साझेदारीमा काम गरेका थिए ।

फरएन एक्सचेन्ज सेन्टरका प्रमुख कार्यकारी अधिकृत ली हुङ उईसँग कैलाशयात्राका लागि एकवर्ष सहकार्य गरे पनि उक्त सेन्टरले आफू अनुकूलका १० कम्पनीलाई मात्र कैलाशयात्राका लागि अनुमति दिएपछि व्यवसायी रूष्ट बनेका छन् ।

उक्त सेन्टरले २०औँ वर्षदेखि कैलाशयात्रामा पठाउँदै आएका नेपाली व्यवसायीलाई निर्वाधरूपमा व्यवसाय गर्नपाउने अधिकारबाट वञ्चित गरेपछि नेपाली व्यवसायीले कूटनीतिक पहलमार्फत सहज ढंगले व्यवसाय गर्नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

श्री कैलाशयात्रा संघले मंगलबार धार्मिक पर्यटकको नाममा एक्कासि ठूलो रकम बढाएको भन्दै चीन सरकारसँग समन्वय गरी रकम कम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा भारतीय पर्यटकलाई एक्कासि रकम बढाउँदा भ्रमण वर्षमा असर पर्ने भन्दै यसका लागि कूटनीतिक पहल गर्ने बताएका छन् । ‘परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर चाँडो भन्दा चाँडो समस्याको समाधान गछौँ’, उनले भनेका छन् । सरकारले यसमा पहल नगरेमा पर्यटन वर्षलाई असर पर्नेका साथै आफूहरू मर्कामा पर्ने व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया