गर्भवती उद्धारमा हेलिकप्टर

डोल्पाको जगदुल्ला गाउँपालिका–५ माझगाउँकी लवाना धराला सुत्केरी बेथाले च्यापेपछि गाउँकै बर्थिङ सेन्टरमा गइन् । बच्चाको हात पहिले नै बाहिर निस्केको भए पनि स्वास्थ्यकर्मीले उनलाई त्यहाँ सुत्केरी गराउन सकेनन् । उक्त स्थानबाट जिल्ला सदरमुकाम दुनै पुग्न दुई दिन लाग्ने भएकोले उनलाई समयमै अस्पताल पुर्याउन सम्भव थिएन । तत्काल उपचार नपाए ज्यानै जान सक्ने अवस्था आएपछि धरालालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पुर्याइयो ।

स्वास्थ्यकर्मीले दिएको मिति कटेको २१ दिनपछि शल्यक्रिया गरेर उनको गर्भबाट मृत बच्चा निकालियो । ‘त्यो पीडा सम्झँदा बाँचिएला जस्तो लागेकै थिएन, तर हेलिकप्टरले बँचायो,’ प्रशव पिडा सम्झदै उनी भन्छिन् । पछिला दिनमा दुर्गमका महिलाले यस्तै उद्धारका कारण सहज रूपमा सुत्केरी हुन थालेका छन् । यो निकै प्रभावकारी र मानविय कामसमेत बनेको छ ।

गर्भाशयमा बच्चा उल्टो बसेकाले कालीकोटकी रत्ना शाहीले पनि सामान्य रूपमा बच्चा जन्माउन सकिनन् । तुरून्तै उपचार नगरे आमा र बच्चा दुवैको ज्यान जान सक्ने अवस्था आएपछि उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो । शल्यक्रियापछि छोरीलाई जन्म दिएकी उनी भन्छिन्, ‘धन्न बाँचियो ! हेलिकप्टर नपाएको भए मर्नुबाहेक अरू उपाय थिएन ।’

तेस्रो बच्चा गर्भमा हुँदा बेथा लागेको सात दिनसम्म पनि सुत्केरी हुन नसकेर छटपटाइरहेकी छेडागाड नगरपालिका–९ पजारू जाजरकोटकी पानसरा टमटालाई यही कार्तिक २७ गते हेलिकप्टरबाटै उद्धार गरियो । हेलिकप्टर नआएको भए मरिन्थ्यो भन्दै प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी भएकी उनी भन्छिन्, ‘मरिन्छ कि भन्ने लागेको थियो, अहिले नयाँ चोला पाएको अनुभूति भएको छ ।’
जीवनदान

केन्द्र सरकारले सञ्चालन गरेको यो सेवालाई कर्णाली प्रदेश सरकारले पनि गत वर्षदेखि निरन्तरता दिन थालेको छ । हवाई सेवाको लागि गत वर्ष डेढ करोड विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष ५० लाख पैयाँ छुट्ट्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीका कतिपय स्थानीय तहले जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई आफ्नै पैसाले हेलिकप्टरबाट उद्धार गरी सुगम अस्पतालसम्म पु¥याउन थालेकोे जनाएका छन्

पाँच वर्षअघिबाट सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवा लवाना, रत्ना र पानसराजस्ता धेरै महिलालाई जीवनदान दिएको छ । यो अवधिमा जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्था पुगेका ५७ जना गर्भवती र सुत्केरी महिलालाई बचाएको सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि हरेक वर्ष दुर्गमका दर्जनाँै महिलाले सुत्केरी हुन नसकेका कारण ज्यान गुमाउँदै आएका थिए । पछिल्लो कार्यक्रमले दुर्गमका गर्भवती महिलालाई ठूलो राहत पुगेको उनीहरू ठान्दछन् ।

छोरी मात्र जन्माए एक लाख पुरस्कार ः स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हवाई सेवा प्रभावकारी बनेपछि गत वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पनि यो सेवा सञ्चालन गरिएको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत एअर लिफ्ट कार्यक्रमकी अञ्जु ढुंगानाले २०७५ पौष महिनादेखि हालसम्म उद्धार गरिएका ५९ महिलामध्ये ३० जना कर्णाली प्रदेशका रहेको बताइन् ।

जटिल स्वास्थ्य समस्याले गर्दा अकालमै ज्यान गुमाउने अवस्थामा पुगेका विकट ठाउँका गर्भवती र सुत्केरी महिलालाई तुरून्तै उद्धार गर्ने भएकोले कर्णालीमा हवाई सेवा निकै प्रभावकारी भएको स्वास्थ्य निर्देशक रिता भण्डारी जोशी बताउँछिन् । पहिला धेरै जना सुत्केरी र गर्भवतीले अकालमै ज्यान गुमाउने गरेको उल्लेख गर्दै उनी भन्छिन्, ‘हवाई सेवाले गर्दा पछिल्ला दिनमा त्यो संख्या एकदमै न्यून भएको छ ।’

हवाई सेवा सुरु हुनुअघि वर्षमा ३३ जना गर्भवती र सुत्केरी महिलाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ । अहिले त्यो संख्या घटेर १२ जनामा झरेको निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले बताउँछन् । हेलीकोप्टरले उद्धार गर्न थालेपछि सुत्केरी हुनुअघि, सुत्केरी हुने वेला र सुत्केरी भइसकेपछि हुने आमाको मृत्युमा कमी आएको छ ।

लामो सुत्केरी बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएका, हातखुट्टा र शरीर सुन्निएका गर्भवती तथा गर्भमै बच्चाको मृत्यु भएका महिनाको उद्धार गरिने गरेको बताइएको छ । यस्तै अधिक रक्तस्राव भएका, रक्त अल्पता, सालनाल पहिला निस्केका, पाठेघर फुटेका गर्भवती र सुत्केरीलाई तत्कालै उद्धार गरी बचाउन सफल भएको निर्देशनालयकी फोकल पर्सन मानकुमारी गुरुङले बताइन् ।

तर, जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती र सुत्केरीलाई भनेको समयमै उद्धार गर्न सहज नभएको स्वास्थ्यकर्मीहरू बताउँछन् । कार्मारोङ गाउँपालिका मुगुमा कार्यरत अनमी सृष्टि पुन भन्छिन्,

जटिल अवस्थामा रहेका कयौंलाई तुरून्तै उद्धार गर्नुपर्ने हुन्छ । तर खराब मौसम, साँझ पाँच बजेपछि हेलिकप्टर नआउने जस्ता आदि कारणले भनेको समयमा उद्धार गर्न कठिनाइ हुन्छ ।’ त्यसलै अहिले पनि कयौं महिलाले उत्त, सुविधा पाउन सक्ने अवस्था छैन । दुर्गममा गर्भवती र सुतकेरी हुने अवस्थाका बारेमा चेतना पुग्न नसक्दा पनि अझै समस्या रहेको छ ।

केन्द्र सरकारले सञ्चालन गरेको यो सेवालाई कर्णाली प्रदेश सरकारले पनि गत वर्षदेखि निरन्तरता दिन थालेको छ । हवाई सेवाको लागि गत वर्ष डेढ करोड विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष ५० लाख पैयाँ छुट्ट्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीका कतिपय स्थानीय तहले जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई आफ्नै पैसाले हेलिकप्टरबाट उद्धार गरी सुगम अस्पतालसम्म पुर्याउन थालेकोे जनाएका छन् । हेलिकोप्टरबाट उद्धार गरेर दुई महिलाको ज्यान बचाएको जाजरकोटको कुशे गाउँपालिकाले उल्लेख गरेको छ ।

हेलिकोप्टरबाट उद्धार गरेका महिलाका आफन्तहरू दुर्गम गाउँका महिलाका लागि त्यसो गर्नु वरदान नै भएको बताउँछन् । यही कार्तिक २१ गते कालिकोटबाट उद्धार गरिएकी रत्नाकी आफन्त गीता शाही भन्छिन्, ‘विकट गाउँका महिलाको लागि हवाई सेवा भगवान् हो ।’

तुरून्तै हेलिकोप्टर नआए मर्नुबाहेक अर्को विकल्प नहुने भन्दै डोल्पाकी लवाना धराला सुत्केरीलाई भत्ता दिनुभन्दा पनि दुर्गम गाउँका स्वास्थ्य संस्थामा बच्चाको अवस्था थाहा पाउने उपकरण र चिकित्सक पठाउन सरकारसँग आग्रह गरिन् । उनको माग दुर्गमको लागि स्वभाविक पनि हो । समयमा नै गर्भमा रहेको वच्चा र आमाको अवस्था थाहा भएमा उनीहरू सचेत हुनसक्ने उनको भनाइ छ ।

पत्नीको चिन्ताले सात दिनसम्म रोएर दिन बिताएको उल्लेख गर्ने पानसरा टमटाका पति वीरजित टमटा अहिले सबै पीडा बिर्सिएको बताउँछन् ।

कयौँ स्थानमा त स्थानीय प्रतिनिधि र प्रदेश सरकारका मन्त्रीहरू आफैँ उद्धारमा समेत खटिन थालेका छन् । स्थानीय निकायले यस्तो विषयमा चासो दिन चालेपछि जनताको विश्वास बढन थालेको छ ।

तर, कयौँ स्थानमा भने यसलाई चुनावी एजेन्डा र राजनीतिक फाइदाका रूपमा समेत लिने गरेको गुनासो सुन्ने गरिएको छ । हेलिकप्टरबाट उद्धार गरेपछि आफूले अग्रसरता लिएको भन्दै नेताहरूले श्रेय लिने होडबाजी लिने गरेको समेत कयौँ ठाउमा देखिन्छ ।

कतिपय मन्त्रीदेखि सांसदसम्म विमानस्थलमै पुगेर उद्धार गरेर ल्याइएका महिलालाई हेलिकोप्टरबाट आफैँले ओराल्न खोज्ने गरेको सरकारी अधिकारीहरूको गुनासो छ । नेताहरूको अनावश्यक दबाब दिएर जटिल समस्या भएको भन्दै ल्याइएका केही महिलाहरू अस्पतालमा सामान्य रूपमै सुत्केरी हुने भएको उदाहरण भएको प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरू बताउँछन् ।

यसरी देखाउनका लागि भन्दा गर्भवति महिलाको स्वस्थ्य अवस्थाका आधारमा उद्वार गरियो भने जटिल अवस्थामा पुगेकाहरूले ज्यान गुमाउन नपर्ने उनीहरूको भनाइ छ । यस्ता सेवामा देवावटीभन्दा आवस्यकता र अवस्थाका आधारमा सेवा गर्दा सुत्केरी हुन नसकेकै कारण ज्यान गुमाउनेको संख्या खझै घट्दै जाने देखिन्छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया