प्रहरीको ठगीखाने भाँडो

शनिबार बाराको सिमराका विभिन्न होटल तथा लजहरूमा छापा मारी नेपाल प्रहरीले नौ जोडीलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनालाई प्रहरीले आफ्नो निकै ठूलो उपलब्धिका रूपमा प्रचार गरेको छ । नियन्त्रणमा लिइएकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन् । रकम लिएर गरिने यौनधन्दा अवैध भएको र यसलाई निरुत्साहित गर्न प्रहरी संगठन कठोर भएर लाग्ने उनको दाबी छ । यता होटल व्यवसायीहरू भने प्रहरीको यो शैलीप्रति असन्तुष्ट छन् । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गरेको समयमा प्रहरीले होटलहरूमा छापा हान्दा बाहिर त्यसको नराम्रो सन्देश जाने बताएका छन् । उनको भनाइ छ– ‘छापामारी गर्ने प्रहरीको कर्तव्य होला, परिस्थिति नबुझी जुनसुकै वेला जहाँ पनि छापामारी गर्दा होटल व्यवसायलाई असर पर्छ ।’

हाम्रो धर्म तथा संस्कारले श्रीमान् श्रीमतीबाहेकको यौन सम्पर्कलाई पाप मानेको छ । यस्ता क्रियाकलापलाई समाजले पनि पाच्य मानेको छैन । यस्तो क्रियाकलापमा संलग्न हुनेहरू समाजबाट बहिस्कृत हुने गरेका छन् । मुलुकको कानुनले श्रीमान् श्रीमतीबाहेक अरूबीचको यौन सम्पर्कलाई अवैध मानेको छ । त्यसैले, यस्ता क्रियाकलापमा संलग्न हुनेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउनु प्रहरीको दायित्व हो । तर, कानुनको यो प्रावधान नेपाल प्रहरीमा कार्यरत कतिपयका लागि कमाईखाने भाँडो बनेको देखिएको छ । यस्तो यौन सम्र्पक गर्ने स्थान भनेकै सहरी क्षेत्रमा होटल तथा लजहरू हुन् भने ग्रामीण क्षेत्रमा वनजंगल, खोल्सा खाल्सी तथा कुना कन्दराहरू हुन् । श्रीमान् केही दिनका लागि बाहिर गएको वा श्रीमती केही दिनका लागि बाहिर गएको अवस्थामा घरमै पनि यस्ता यौनसम्पर्क हुने गर्दन् । यसले पछिल्ला दिनमा व्यापकता लि“दै गएको छ । प्रहरीले होटल तथा लजहरूलाई नै मुख्य निशाना बनाउने गरेको छ ।

श्रीमान् श्रीमती बाहेकको यौनसम्पर्क मुख्यतः दुई प्रकारका छन् । पहिलो हो कुनै महिला वा पुरुषले निश्चित रकम लिएर गर्ने यौन सम्पर्क । जसलाई बेश्यावृत्ति भन्ने गरिन्छ । दोस्रो हो – ‘जैविक आवश्यकता तथा मनोरञ्जनका लागि सहमतिमा हुने यौन सम्पर्क ।’ केही दशकयता हरेकको हातहातमा भएको मोबाइल टेलिफोन तथा फेसबुकका कारण पनि अवैध यौनसम्पर्क सहज बन्न थालेको छ । यौन सम्पर्कका लागि आउने जोडीलाई लक्षित गर्दै मुलुकमा धेरै होटल तथा लजहरू खुलेका छन् । यी होटल तथा लजहरू कि त पहुँचवालाका हुन्छन्, कि त प्रहरी संगठनमा काम गर्नेहरूको सेयरमा खोलिएका हुन्छन्, कि त प्रहरीलाई मासिकरूपमा रकम बुझाउने गरी खोलिएका हुन्छन् । जब प्रहरीले मासिकरूपमा पाउने रकम वृद्धि हुनुपर्ने आवश्यकता देख्छ तब छापा मार्छ । प्रहरीको यो क्रियाकलाप ‘ओपन सेक्रेट’ जस्तै छ । प्रहरीले छापा मारेको समाचार वेलामौकामा नआउने हो भने अवैध यौनसम्पर्कले व्यापकता पाउँछ । यस्ता समाचार वेला–वेलामा आउनु राम्रै हो । तर, यो प्रकरण प्रहरीमा कार्यरत केही व्यक्तिको कमाइ खाने भाँडो बन्नु हुँदैन । सरकार गम्भीर हुनै पर्छ । को–को बीच अवैध यौनसम्पर्क हुने गरेको छ ? भनेर अनुसन्धानमा समय र स्रोतसाधन खर्च गर्नुभन्दा सार्वजनिक यातायातका साधनमा सक्रिय पकेटमारहरूलाई पक्राउ गर्न प्रयत्न गर्नु प्रहरीको हितमा छ, सर्वसाधारण जनताको पनि हितमा छ ।

प्रतिक्रिया