उपनिर्वाचनले तात्दैछ पिपरा

महोत्तरी । जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरीको निधन भएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।

पिपरा गाउँपालिकाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवारहरूमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्छु भन्ने विश्वास देखिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताउँछिन् ।

दुई वर्षको छोटो अवधिमा आफ्ना पतिले पिपराका जनताका लागि विकासका धेरै काम गरेको र अझै बढी काम गर्न चाहेर गर्न नपाएको बताउने उनले पतिका अधुरा योजनाहरू पूरा गर्ने वाचा गरिन् । अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रूपमा रहेका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिएका छन् । अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुवैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उनी आफ्नो जीत सुनिश्चित ठान्छन् ।

उनी जनताको चाहनाबमोजिम पिपरा गाउँपालिकालाई समृद्ध बनाउने दृढता व्यक्त गर्छन् । चुनावी प्रतिष्पर्धामा मधेस र मधेसका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दाबीका साथ पिपरा गाउँपालिकाको उप–निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिएका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दाबी गरेका छन् ।

मधेस र मधेसीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चाैतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उनी दाबी गर्छन् । यहाँ नेपाली काँग्रेसबाट विजय यादवले उम्मेदवारी परेको छ । उनले आफूलाई पिपराका जनताले जिताउने दाबी गर्छन् ।

यसपालि जितेर मधेस र मधेसी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने वचनवद्धता उनी प्रकट गरिरहेका छन् । पहिलो पटक निर्वाचनमा होमिने मौका प्राप्त गरेको डा. सिके राउतको पार्टीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनी देवी मण्डलको उम्मेदवारी परेको छ ।

देशमा विद्यमान राजनीतिक दलहरूको जस्तो आफ्नो पार्टीको कुनै स्वार्थ नरहेको र केवल इमान्दारीका साथ जनताको सेवा गर्ने पवित्र उद्देश्य मात्र बोकेकाले पिपरा गाउँपालिकामा यसपालि नयाँ चमत्कार हुने उनी ठान्छिन् । यहाँ ११ जना पार्टीका र नौ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दाबी गरिरहे पनि नतिजा थाहा पाउन मंसिर १४ गते कुर्नुपर्नेछ । पिपरा गाउँपालिकामा सात वटा वडा रहेका छन् भने यहाँ १८ हजार पाँच सय ८८ मतदाता छन् । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहने छन् ।

प्रतिक्रिया