अर्थबजार

नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

सौर्य अनलाइन २०७६ मंसिर १ गते १७:५८ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनी मध्ये मै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका हुन ।
सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको बताए । प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन हौसला मिलेको छ ।’

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय