हङकङमाथि नेपालको जित

काठमाडौं । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पहिलो जित हात पारेको छ ।  बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत शनिबार नेपालले आफ्नो दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको हो । नेपाल पहिलो खेलमा भने भारतको यु–२३ सँग पराजित भएको थियो । नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ १ सय ७७ रनमा अल आउट भयो । नेपालको जितमा करण केसी र अविनाश बोहोराले ३÷३ विकेट लिँदा सुशन भारीले २ विकेट हात पारे ।

हङकङका लागि किन्चित साहले ५३ तथा हारोन अर्सदले २६ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय १७ रन बनायो । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । जसमा उनले १ सय ३९ बलमा नौ चौका प्रहार गर्दै ८९ रन बनाए । खराब सुरुवात गरेको नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो ।

कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा नै पेभेलियन फर्किए । त्यसको लगत्तै कुशल भुर्तेल पनि एक रनमा आउट भएपछि नेपालले तीन रनमा दोस्रो विकेट गुमायो । त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीबीच दोस्रो विकेटका लागि ८३ रनको साझेदारी भएको थियो । जसमा ऐरी ३७ रनमा आउट हुँदा नेपालको स्कोर ८६ रन थियो ।

त्यसपछि शरद र आरिफ शेखबीच पनि अर्को अर्धशतकीय साझेदारी भएको थियो । आरिफ ४२ रनमा आउट हुँदा नेपालले एक सय ६० रनमा चार विकेट खेर फाल्यो । तर, त्यसपछि भने नेपालका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । अघिल्लो खेलमा अर्धशतक बनाएका पवन सर्राफले खाता खोल्न सकेनन् भने विनोद भण्डारी १५, करण केसी ७ तथा सुसन भारी ६ रनमा आउट भए ।

प्रतिक्रिया