अस्ट्रेलियामा नेपथ्य गुञ्जिने

काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि लोकरक ब्याण्ड नेपथ्यले अस्ट्रेलियाको यात्रा गर्ने भएको छ । सन् २००९देखि सुरू भएको नेपथ्यको यो चौथो शृंखला हो । उक्त कार्यक्रममा व्यवस्थापन तथा प्राविधिक टोलीसहित नेपथ्यबाट १२ सदस्य सहभागी हुन लागेका हुन् ।

यस वर्षको पहिलो कन्सर्ट क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा हुनेछ । त्यहाँस्थित फोर्टिच्युड म्युजिक हलमा १९ नोभेम्बरमा नेपथ्यले आफ्ना नयाँ तथा पुराना चर्चित गीत सुनाउने छ ।

त्यस्तै, २२ नोभेम्बरमा डार्बिनमा, ३ डिसेम्बरमा एडिलेडमा, ८ डिसेम्बरमा होबार्टमा, सिड्नीमा डिसेम्बर १४ मा प्रस्तुति दिएपछि अन्तिम प्रस्तुतिका लागि २३ डिसेम्बरमा नेपथ्य मेलवर्न पुग्ने जनाइएको छ ।

उक्त कार्यक्रमको संयोजन ‘नेपाली टच’ ले गर्न लागेको हो । नेपथ्य ब्याण्डको अस्ट्रेलिया यात्राले नेपाली गीतसंगीतमा रुचि राख्ने नेपाली उत्साहित भएको ‘नेपाली टच’ का दीपेश पुनले बताए । अस्ट्रेलियास्थित नेपाली टचको संयोजनमा नेपथ्यको कार्यक्रमको स्थानीय आयोजना ब्रिसबेनमा माउन्ट ८८४८ इभेन्ट, डार्बिनमा गोर्खा पल्टन, एडिलेडमा गिरिश एण्ड ३ केजी इभेन्ट, होवार्टमा ताज इभेन्ट र मेलवर्नमा नेप्ले इभेन्ट तथा सिड्नीमा भने नेपाली टचले गर्दैछन् ।

टोलीमा नेपथ्यका मुख्य गायक अमृत गुरुङ, ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले रहेका छन् । कार्यक्रमको निर्माण पक्ष नेपालयले जिम्मा लिएको छ ।

प्रतिक्रिया