वडाध्यक्षकै आडमा सर्वजनिक जग्गा अतिक्रमण !

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३० लालपर्सास्थित २ बिघा ५ कठ्ठा सार्वजनिक ऐलानी जग्गा अतिक्रमाणको चपेटामा परेको छ । युनाइटेड लोजेस्टिकले स्थानीय बाहुबलीको आडमा जग्गा हडप्न खोजेका छन् ।

ऐलानी पर्ती जग्गामा आँखा लगाउने र मौका परे अपराधिक कार्यमा संलग्न भई छोटो अवधिमा माल कमाउन पल्केका गेनालाल राउत कुर्मी र पटक–पटक विभिन्न जालसाजी काम गरेवापत अदालतबाट दण्डित भएका र खास गरी लालपर्सामा भारतीय मुस्लिमहरूलाई आयात गरी नेपाली नागरिकता दिलाउन सफल भएका वीरगञ्ज महानगरपालिका–३० मा नेकपाबाट निर्वाचत वडाअध्यक्ष अमानत अंसारीले स्थानीय बासीहरूको भावनाको विपरीत उद्योगपतिसँग मिलेर ऐलानी जग्गा कब्जा गराई माल तान्ने प्रयत्नमा जुटेका छन् ।

वीरगञ्ज महानगरपालिकामा निर्वाचित हुनुभन्दा अगाडि मेयर विजय सरावगीले स्थानीयलाई ‘मेरो कसम’ नामक पम्पलेट बाँडेका थिए । त्यो पम्पलेटमात्र नभई आफ्नो सपथ–पत्र भएको भन्दै हरेक वडामा जेष्ठ नागरिकको लागि पार्क निर्माण गर्ने सपना बाँडेका थिए ।

उनले बाँडेको सपनाबमोजिम त्यस क्षेत्रका युवाहरूले लालपर्सामा हालका भूमाफियाले कब्जा गर्न खाजेको जग्गामा पार्क निर्माण गर्ने योजना बनाएका थिए । तर, मेयरले देखेको सपनामाथि तुषारापात गर्दै भू–माफियाहरूले जग्गा कब्जा गर्न खोजेपछि युवाहरूले विरोध गरेको भए पनि स्थानीय युवाहरूलाई मेयर सरावगीको सहयोग नभएको बताइन्छ ।

न्यु नमूना युवा क्लबले सार्वजनिक जग्गा संरक्षणको लागि गाडिएको पिलर भू–माफियाहरूले भत्काइदिएका छन् । यस सन्दर्भमा मेयर सरावगीको कुनै चासो देखिदैन बरू जिल्ला प्रशासन कार्यायल पर्साले चासो देखाएर सो सार्वजनिक ऐलानी जग्गामा कुनै किसिमको निर्माण कार्य गर्न अवरोध लगाएको छ ।

सुक्खा बन्दरगाह रोडबाट दक्षिणमा रहेको साविक लालपर्सा गाविस–२ को कित्ता नम्बर एक सय ५४ र एक सय ५९ को ऐलानी जग्गामा श्री युनाइटेड लोजेस्टिक नेपाल (विशाल गु्रप) ले माटो भर्न पाउनुपर्छ भन्दै सो वडाका वडाध्यक्ष अमानत अंसारीले बताउँदै आएका छन् ।

प्रतिक्रिया