कतै छैन चुस्त सीमा सुरक्षा

काठमाडौं । नेपालको तीन दिशामा भारत र उत्तरतर्फ चीनसँग सीमा जोडिएपनि कुनै पनि क्षेत्रमा चुस्त सुरक्षा नभएको भेटिएको छ । नेपालको सुरक्षा व्यवस्था काम चलाउ रूपमा अहिलेसम्म कायम गरिएको खुलेको छ ।

विश्वका कयौँ मुलुकले आफ्नो सिमानामा ठूलो सुरक्षाकर्मी तैनाथ गरे पनि नेपालले भने त्यसो नगरेकोमा विज्ञहरूले रोष प्रकट गरेका छन् । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ । सशस्त्र प्रहरी बल नेपालले अहिलेसम्म सीमा क्षेत्रमा एक सय सात चौकी स्थापना गरेको छ ।

उसले गरेको अध्ययनमा न्यूनतम दुई सय ६५ स्थानमा सशस्त्रको उपस्थिति गराउनुपर्ने आवश्यकता छ । तीन दिशामा भारतसँग एक हजार सात सय ५१ किलोमिटर खुला सीमा रहेको नेपालको उत्तरमा चीनसँग एक हजार चार सय १४ किलोमिटर सीमा रहेको छ ।

तराईका जिल्लामा स्थापित २३ वटा गण र १३ वटा गुल्ममार्फत लगभग १६ हजार जनशक्ति सीमा क्षेत्रमा खटिएको अधिकारीहरू बताउँछन् । चीनसँग सीमा जोडिएका क्षेत्रमा एउटा गण र जिल्ला सदरमुकामहरूमा १७ वटा गुल्म स्थापना गरी तीन हजार पाँच सय प्रहरी खटाइएको बताइन्छ । तर, भारतले नेपाल र भूटानको सीमामा मात्र ९८ हजार बढी सुरक्षाकर्मी खटाएको छ ।

नेपालसँग एक हजार सात सय ५१ किलोमिटर लामो सीमामा भारतका उत्तराखण्ड, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल र सिक्किम राज्य जोडिन्छन् । त्यसको लागि लगभग ९८ हजार दरबन्दी रहेको एसएसबीका ३४ वटा बटालियनअन्तर्गत चार सय ५० बढी सीमा चौकीहरू स्थापना गरिएको भारतीय गृह मन्त्रालयले जनाएको छ । त्यसबाहेक भारतले नेपालसँगको सीमामा आफ्नो पहुँचलाई सहज बनाउने उद्देश्य सहित एक हजार तीन सय ७७ किलोमिटर रणनीतिक सडक बनाउन ६१ अर्ब रुपैयाँ छुट्याएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जनशक्ति साधन, स्रोत र प्रविधिलगायत कारणले चौकी स्थापना गर्नेमा समस्या देखिएको बताउँदै आफ्नै प्रयासमा भएको जनशक्तिलाई परिचालन गरेर सशस्त्रले सीमाको निगरानी बढाउँदै आएको उल्लेख गरे । सीमा निगरानी बढाउन सशस्त्र प्रहरीका गत वर्ष २० चौकी थप गरेका र यो वर्ष २५ थप्ने योजना छ ।

‘अहिलेसम्म मौजुदा सशस्त्र प्रहरीलाई नै परिचालन गरिरहेका छौँ, अब थप प्रहरीको उपस्थिति बढाउँदा जनशक्ति, स्रोतसाधन र प्रविधि आवश्यक हुन्छ’, श्रेष्ठले भने, ‘अहिले हाम्रो औषत १८ किलोमिटरको दूरीमा एउटा चौकी छ, एक चौकीबाट अर्काेको दूरी सात किलोमिटरमा झार्ने योजनाका साथ दुई सय ६५ पोष्ट आवश्यक हुने भनेर पहिचान भएको छ, तब मात्रै सुरक्षा निगरानी राम्रो गर्न सक्छौँ ।’ भारतले भने प्रत्येक पाँच किलोमिटरमा एउटा चेकपोस्ट राखेको छ ।

उत्तरतर्फ १७ र दक्षिणतर्फ दुई सय ४८ चौकी भएमा सुरक्षा निगरानी राम्रो गर्न सकिने भन्दै श्रेष्ठले यसका लागि ठूलो जनशक्तिको आवश्यकता रहेको बताए । एउटा चौकीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरी खटिन्छन् । अहिले सीमा क्षेत्रमा झण्डै चार हजार सशस्त्र प्रहरी छन् । चौकी थप गर्न दरबन्दी नै आवश्यक हुनेछ । सबै क्षेत्रमा व्यवस्थापन गर्न थप १४ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ ।

सीमा विवाद अहिले मात्र नभई सन् १९६५ देखि नै भइरहेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले अहिले भारतको नक्सामै राखेको भनिएकाले मात्रै घटना सतहमा आएको बताए । चीन र भारतसँग नेपालको सीमा जोडिएकाले फरक खालका चुनौती छन् । नेपाल र भारतको सिमाना खुला भएकाले जुनसुकै ठाउँबाट मान्छे ओहोरदोहोर गर्न सक्छन् ।

वस्तु चराउनेसम्मको खुला रहेकाले यसलाई रोक्न सशस्त्र प्रहरीले सक्तैन । यसलाई अधिकतम सुरक्षा बढाउने मात्रै हो । दैनिक लाखौँ मानिस ओहोरदोहोर हुने गरे पनि अभिलेखीकरण छैन । सोका कारण सीमा क्षेत्रको सुरक्षामा ठूलो चुनौती रहेको सशस्त्र प्रहरीको निष्कर्ष छ । अहिलेसम्म भारतसँग जोडिएका दक्षिणी क्षेत्रमा मात्रै सुरक्षा चौकी छ, उत्तरतर्फ छैन ।

यो वर्ष उत्तरतर्फ चारवटा राख्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । उच्च हिमाली क्षेत्र भएकाले आवश्यक तयारी गरेर चौकी स्थापना गर्ने योजना सशस्त्र प्रहरीको छ । पहिले चौकी थप्न अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्को निर्णय नै गर्नुपर्ने थियो । अहिले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमामा सशस्त्र प्रहरी खटाउन सकिने अवस्था आएकाले चौकी स्थापनामा केही सजिलो भएको जनाइएको छ ।

नेपालको दक्षिणतर्फको सीमा क्षेत्र करिब एक हजार आठ सय किलोमिटर र उत्तरतर्फ एक हजार चार सय किलोमिटरको हाराहारी रहेको जनाइएको छ । वि.सं २०५८ मा सशस्त्र प्रहरी बल स्थापना भए पनि सीमामा वि.सं २०६३ बाट मात्रै चौकी स्थापना भएका थिए । श्रेष्ठले सीमा विवाद दुई देशको पहलमा मात्रै समाधान गर्न सकिने उल्लेख गर्दै नेपाल–भारतको संयुक्त सर्वेको काम जारी रहेकाले त्यसले समाधानका उपाय पहिल्याउन सक्ने बताए ।

प्रतिक्रिया