‘सीमा विवादमा सरकार गम्भीर भएन’

इलाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारत सीमा विवाद समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । शुक्रबार इलाममा पुगेर नेता पौडेलले विवाद समाधानका लागि चाँडो पहल गर्न सरकारलाई सुझाए ।

इलाम सदरमुकाममा आयोजित स्थानीय तह पार्टी संरचना समायोजन घोषणा सभालाई सम्बोधन गर्दै नेता पौडेलले लामो समयदेखि कायम रहेको सीमा समस्या हल गर्न सरकारले चाँडो कूटनीतिक पहल थाल्नुपर्ने बताए । ‘भारत र चीन दुवै तर्फको सीमा समस्या हल गर्ने उपयुक्त समय आएको छ । यसका लागि सरकारले चाँडो पहल थालोस्’, नेता पौडेलले भने, ‘यो राष्ट्रियताको सवाल भएकाले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस तयार छ ।’

नेता पौडेलले सचिवस्तरीय टोलीले सीमा समस्या हल गर्न नसक्ने बताउँदै प्रधामन्त्री आफैँले वार्ताको वातावरण बनाउन लाग्न सुझाव दिए । ‘भारत होस् या चीन कुनै हालतमा एक इन्च सीमा मिच्न दिनु हुँलैन । भारतको हेपाहा प्रवृतिको अन्त्य गर्न सरकारले आँट गर्न सकेन’, नेता पौडेलले भने, ‘सीमा विवाद देखिएका स्थानमा नेपालको भूभाग जतिका प्रमाण जुटाएर भारतसँग कडा रूपमा प्रस्तुत हुन सरकारलाई अनुरोध गर्छु । सहयोग गर्न कांग्रेस तयार छ ।’

नेता पौडेलले निर्वाचन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका विषयमा बोले पनि हाल सरकार प्रमुख हुँदा कुनै काम गर्न नसकेको आरोप लगाए । आफ्नो मन्तव्यको अधिकांश समय सरकारको आलोचनामा खर्चिएका नेता पौडेलले नेकपा नेतृत्वको सरकार पुरापुरी असफल भइसकेको दाबी गरे । देशमा भष्ट्राचार, कालोबजारी, हत्या हिंसा मौलाउँदा पनि दुईतिहाइको सरकारले ठोस कदम चाल्न नसक्नुले सरकारको असफलता प्रमाणित भएको दावी गरे ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिस्टहरूले संघीयतामा विश्वास नगर्ने भएकाले पनि हाल जताततै भ्रष्टाचार मौलाएको बताए । कांग्रेसकै नेतृत्वमा संविधान आएको र अब पनि कांग्रेसले नै संघीयता कार्यान्वयन गराउने उनको दाबी छ । यसअघि पार्टीले हार ब्यहोरे पनि अवका चुनावमा उसैगरी नेकपा पछिपर्ने उनको भनाइ छ । हारसँग हार नहुन कार्यकर्तालाई सुझाव दिँदै उनले यसलाई पाठको रूपमा लिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका अनुशासन समितिका संयोजक भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य धनराज गुरुङ, बद्रि पाण्डे लगायतका नेताहरूले सम्बोधन गर्द सरकारको कडा आलोचना गरेका थिए । नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यको सभापतित्वमा भएको थियो । जिल्लाका विभिन्न नगर र गाउँपालिकाबाट सयौंको संख्यामा कार्यकर्ता सदरमुकाम आएका थिए । राज्यपुनर्संरचना पछि पहिलोपटक पार्टीको स्थानीय तहको संरचना समायोजन सकेर सदरमुकाममा घोषणासभा गरेको हो ।

प्रतिक्रिया