‘बिचौलियाले सम्बन्ध बिगारे’

काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मिलेर अगाडि बढ्ने सहमति भएको छ । लामो समयको तिक्ततापछि बुधबार दिउँसो यी दुई नेताबीच लामो छलफल भएको छ ।

सचिवालय बैठकमा विगत केही बुँदामा लिखित र मौखिक असहमति प्रकट गर्दै आएका नेता नेपाललाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटार बोलाएको थिए । उनले बिहानको खाना खानेगरी नै बोलाएपछि नेता नेपाल करिब ११ बजेतिर बालुवाटार पुगेका हुन् । बल्खुस्थित मदननगरमा केन्द्रीय कार्यालय बनाउने विषयमा छलफल गर्न बोलाइएको बताइए पनि दुई नेताबीच पछिल्लो समय देखिएको मनमुटाव कम गर्न केन्द्रित रहेको थियो । निकै लामो छलफलपछि दुवै नेताले आफूहरूबीच फाटो ल्याउन केही बिचौलिया नेता लागेको निष्कर्ष निकालेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष ओलीले दुई जना (आफू र नेता नेपाल) बीच दूरी बढाउन केही नेताहरू नै लागी परेको प्रसंग उल्लेख गरेका थिए । नेता नेपालले भेटमा आपसी तिक्तताभन्दा पनि प्रक्रियाबाट अगाडि चल्नुपर्नेमा जोड दिएका थिए 

खानासँगसँगै अन्य गफगाफ निकै बेरसम्म चलेको थियो । बालुवाटार स्रोतका अनुसार, दुवै नेता विगतका सम्बन्धबारे समीक्षा गर्नेतर्फ बढी केन्द्रित भएका थिए । भेटमा अध्यक्ष ओलीले दुई जना (आफू र नेता नेपाल) बीच दूरी बढाउन केही नेताहरू नै लागी परेको प्रसंग उल्लेख गरेका थिए । नेता नेपालले पनि सो विषयमा आफूलाई पनि शंका लागेको बताए । नेता नेपालले भेटमा आपसी तिक्तताभन्दा पनि प्रक्रियाबाट अगाडि चल्नुपर्नेमा जोड दिएका थिए ।

पार्टी एकीकरण प्रक्रिया र राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेता नेपालले विमति जनाउँदै आएका छन् । प्रदेश र जिल्ला कमिटि गठन, प्रदेश प्रमुख छनौटलगायतका विषयमा नेता नेपालले असहमति व्यक्त गरेका थिए । दुई नेताबीच यतिसम्म फाटो आएको थियो कि ४ भदौको सचिवालय बैठकमा स्वास्थ्यलाभको कामनासमेत दिने र स्वीकार गर्ने विषयमा विवाद भएको थियो । तर, त्यसलगत्तै दुवै नेताले सो विषय सामान्य भएको भन्दै विषायन्तर गरेका थिए । लामो समयदेखि नेता नेपालसँग तिक्तता बढेपछि अध्यक्ष ओली आफँैले सम्बन्ध सुधारको प्रयासमा बालुवाटार बोलाएका थिए । छलफलमा पार्टीको आगामी योजनाबारे समेत छलफल भएको बुझिएको छ ।

विशेषगरी पार्टी सदस्यता व्यवस्थापनदेखि मदन नगर बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउनेबारे छलफल केन्द्रित भएको थियो । स्रोतका अनुसार, पार्टी कार्यालय निर्माणको पहल कदमी लिन नेता नेपाललाई अध्यक्ष ओलीले आग्रह गरेका थिए । नेता नेपालले सो निर्माणका लागि आफूले अग्रसरता लिने बताएका छन् । यी दुई नेताबीच करिब साढे तीन घण्टासम्म भएको छलफललाई नेकपाभित्र महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया