बार्सिलोनाको सहज जित

एजेन्सी, लन्डन । बार्सिलोनाका लियोनल मेसीको ह्याट्रिकमा शनिबार सेल्टा भिगोमाथि ४–१ को जित हात पारेसँगै प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई राहत मिलेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा जितका साथ स्पेनिस ला–लिगाको शीर्षता कायम राख्ने क्रममा मेसीले ह्याट्रिकमा सर्जियो बुस्केटले एक गोल थपे । ला लिगामा मेसीको ३४औँ ह्याट्रिक हो र उनले क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।

‘मेसीबिना टोलीको प्रदर्शन सोच्न सकिँदैन । उनमै सबै कुरा निर्भर हुन्छ,’ भाल्भेर्डेले भने, ‘उनले खेलमा गति प्रदान गर्छन् ।’ शनिबारै चाँडो गरी भएको खेलमा रियाल मड्रिड एइबरमाथि ४–० जितका साथ केही समयका लागि शीर्ष स्थानमा फर्किएको थियो । रियालको सहज जितमा करिम बेन्जेमाले दुई तथा सर्जियो रामोस र फेड्रिको भाल्भेर्डेले समान एक गोल गरेका थिए ।

बार्सिलोना र रियाल मड्रिड समान १२ खेलमा समान २५ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । २३ अंकका साथ रियाल सोसिडाड तेस्रो स्थानमा छ भने एट्लेटिको मड्रिड र सेभिया समान २१ अंकका साथ चौथो र पाँचाँै स्थानमा छन् । यस जितसँगै बार्सिलोना जितको लयमा समेत फर्किएको छ । गत साता ला–लिगामा लेभान्टेलाई नतिजा सुम्पिएको बार्सिलोनाले च्याम्पियन्स लिगमा स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यससँगै भाल्भेर्डेको पद धरापमा परेको थियो । तर, मेसीको उत्कृष्ट प्रदर्शनमा भाल्भेर्डेलाई राहत मिलेको हो । सात खेलमा मेसीको यो नवांै गोल हो भने क्लबका लागि उनको यो ६ सय १२औँ गोल हो । ‘पक्कै पनि मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन् र उनी सधंै क्लबका उद्धारकर्ता हुन्,’ बुस्केटले भने ।

मेसीले पछिल्लो पटक २०१२ मा स्पानियोलमाथि ला–लिगमा सेट पिसमार्फत ह्याट्रिक पूरा गरेका थिए । त्यस क्रममा उनले दुई गोल पेनाल्टीमा र एक गोल फ्रि किकमा गरेका थिए । लुइस स्वारेज फिट हँुदै टोलीमा फर्कनु पनि बार्सिलोनाका लागि सुखद बन्यो । २३औँ मिनेटमा मेसीले पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोनाको गोल खाता खोलेका थिए । तर, मध्यान्तर हुन ३ मिनेट बाँकी हुँदा लुकास ओलाजाले सेल्टा भिगोलाई खेलमा फर्काएका थिए । ४५औँ र ४८औँ मिनेटमा फ्रिकिकलाई जाली चुमाउँदै मेसीले ह्याट्रिकका साथ बार्सिलोनाको अग्रता ३–१ मा पु¥याएका थिए । खेल सकिन ५ मिनेट बाँकी हुँदा बुस्केटको गोलमा बार्सिलोनाले सहज जित पक्का गरेको हो ।

प्रतिक्रिया