खोजखबर

यसरी हुन्छ गाईगोरुको तस्करी

सौर्य अनलाइन २०७६ कार्तिक २५ गते ६:५५ मा प्रकाशित

पूर्वी नेपालको झापा हुँदै गाईगोरु तस्करी गरेर भारत तथा नजिकको तेस्रो मुलुक बंगलादेशसम्म पु¥याइने गरिएको नेपाल प्रहरीका अधिकारीहरूले बताएका छन् । नवलपरासीबाट झापा हुँदै भारततिर लाँदै गरिएका ४९ वटा गोरु गएको मंगलबार प्रहरीले झापाको सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । ती गोरु नियन्त्रणमा लिए पछि प्रहरीले उक्त आशंका गरेको हो ।

पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेको अधिकारीहरू बताउँछन् । भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको छ । तर, तस्करहरूले झापासँग जोडिएको पश्चिम बंगाल राज्यतिर तस्करी गरिरहेको प्रमाण नेपाल प्रहरीले भेटेको बताएको छ । त्यसैले पनि अहिले प्रहरी चनाखो भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा तीनलाई कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन

तस्करीको बाटोः अहिलेसम्म झापाका बनियानी, पथरिया, भद्रपुर तथा कुमरखोद नाकाबाट प्रहरीले गाई तथा गोरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वैशाख महिनायता १ सय ९० वटा गाईगोरु झापाबाट भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसले पनि उक्त नाकाबाट गाईगोरुको निकै तस्करी हुने गरेको रहेछ भन्ने देखाउँछ ।

उनले भने, ‘अहिले गृह मन्त्रालयले पनि गाईगोरुको तस्करी नियन्त्रणका लागि कडा आदेश दिएको छ । त्यसैले, हामीले २७ वटा पोस्टमा निगरानी बढाएका छौँ ।’ उत्तर प्रदेश र बिहारको गाईगोरु ओसारपसार गर्न कडाइ गरिएकाले तस्करहरूले विकल्पका रुपमा पूर्वी नेपालका दक्षिणी नाका प्रयोग गर्न थालेको नेपाल प्रहरीका अधिकारीहरूको भनाइ छ । पूर्वी नेपालको सीमा पश्चिम बंगालसँग जोडिएकाले पनि उनीहरूले सो नाका रोजेको हुनसक्छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार पश्चिम नेपालका विभिन्न स्थानबाट ल्याइएका गाईगोरु पु¥याउने अन्तिम गन्तव्य बंगलादेश नै हो । उनले भने, ‘नेपालका विभिन्न स्थानबाट ल्याइएका गाईगोरु तस्करी गरेर बंगलादेशसम्म पु¥याइने गरिएको भन्ने बुझिएको छ ।’ त्यसैले अहिले प्रहरीले उक्त कार्यलाई नियन्त्रण गर्न कडाइ गरेको छ । त्यसरी तस्करी गरेर लगिएका गाईगोरु बंगलादेशमा मासुका लागि तस्करी हुने नेपाली अधिकारीहरूको ठम्याइ छ ।

नियन्त्रण गर्न गाह्रोः नेपालमा आन्तरिक उपयोगका लागि गाईगोरु ओसारपसारमा कुनै रोक नलगाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए । उनले भने, ‘देशभरि ल्याउन लैजान सरकारले रोक्दैन । तर, देशबाहिर लैजानका लागि भने प्रहरीले कुनै हालतमा दिँदैन ।’ कानुनले बन्देज लगाएको गतिविधि प्रहरीले रोक्ने उनले बताए ।

तर, नेपाल–भारतका बीचमा विभिन्न स्थानमा रहेको खुला सिमानाका कारण बस्तुभाउ चर्दै पनि नेपालतिर आउने भएकाले गाईगोरुको आवागमनमा पूर्ण नियन्त्रणमा कठिनाइ भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘खुला सिमाना छ । कति वेला तस्करले मौका छोप्छन् भन्ने पत्ता लगाउन नै गाह्रो छ ।’ उनले यसमा देखिएको समस्या सुनाए ।

बंगलादेश लैजान कति सहज ? नेपाल र भारतबीचको खुला सीमा भएकाले नेपालका गाईगोरु भारततिर तस्करी गर्न सहज भए पनि भारत र बंगलादेशबीच खुला सीमा नभएकाले त्यति सहज नभएको नेपाली तथा भारतीय अधिकारीहरू बताउँछन् ।

तर, सीमा क्षेत्रका नेपाल र भारतका अधिकारीहरूको बैठकमा गाईगोरु तस्करीको विषय ‘कमन एजेन्डा’ हुने गरेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रेशम थाम्सुहाङले बताए । उनले भने, ‘यो विषय बैठकमा नउठ्ने भन्ने कुरै हुँदैन ।’

उनले भारतीय तथा नेपाली अधिकारीहरूले उक्त तस्करी नियन्त्रणको प्रतिबद्धता व्यक्त गर्ने गरिएको बताए । तर, भारत र बंगलादेशको सीमामा बार भए पनि भारतबाट गाईगोरु बंगालादेश लैजाने गरिएका घटना हुने गरेको भारतीय सीमा अधिकारीहरूको भनाइ छ ।

भारतीय सशस्त्र सीमा सुरक्षा बल ८ नम्बर बटालियनका कमान्डर अरुणकुमार सिंहका अनुसार सुरक्षा व्यवस्थाका हुँदाहुँदै पनि तस्करीका घटना हुने गरेका छन् । उनले भने, ‘पूर्ण रूपमा नियन्त्रण गर्न त समस्या नै छ हामीकहाँ पनि । तर, बंगलादेशतिर तस्करी गर्नचाहिँ त्यति सहज छैन ।’ उनका अनुसार पनि नेपालबाट भारततीर गाईगोरु तस्करी गर्न सहज भए पनि भारतबाट बंगलादेश वा अन्य स्थानमा लैजान सहज छैन ।

कानुनी व्यवस्थाः मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा तीनलाई कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।

त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । गाई वा गोरुलाई कुटेर अंगभंग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उक्त कानुनले पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न दिँदैन ।त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

चौपाया ओसारपसारसम्बन्धी कानुनः पशु ढुवानी मापदण्ड, २०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन भन्ने बारेमा पनि कानुले उचित मापदण्ढ तोकेको छ । ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था उक्त मापदण्डले गरेको छ ।

मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाँध्नु नहुने तथा कोचेर राख्नु नहुने स्पष्ट रूपमा खुलाइएको छ । तर, यो व्यवहारमा प्रयोग भएको देखिँदैन । तराईबाट राजधानी काठमाडौं वा अन्य स्थानमा मासु प्रयोजनका लागि ल्याइने राँग भैँसी ढुवानीको अवस्था हेर्ने हो भने त्यो कानुनविपरीत देखिन्छ ।

आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण प्रष्ट देखिनेगरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

तर, गाडीमा चौपायालाई निर्दयी तरिकाले ओसार–पसार गर्ने गरिएको प्रहरी अधिकारीहरूको पनि भनाइ छ । कानुन बनाइए पनि त्यसको पूर्णरुपमा पालना भएको पाइँदैन । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया