प्रधानमन्त्रीको प्रयास सराहनीय

भारतले कालापानी क्षेत्रको केही नेपाली भूभाग आफ्नो नक्सा पारेर जारी गरेपछि अहिले नेपाली सडक तातेका छन् । देशभरि सल्केको भारतविरुद्धको यो झिल्कोले राष्ट्रवादको नाममा अराजकता निम्तिन सक्ने पनि उत्तिकै सम्भावना छ । नेपालले जारी गरेको संविधानमा असन्तुष्टि देखाउँदै ६ महिना लामो नाकाबन्दी गरेको भारतीय पक्षले यसलाई सजिलै पचाउलान् भन्न सकिन्न । नेपालमा पनि अहिले नेकपाको सरकार छ । नाकाबन्दीका वेला कतिपय दलका नेताले सिधै नाकाबन्दी भन्न हिच्किचाउँदा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली नाकाबन्दीविरुद्ध दह्रोसँग अडिएका थिए । अहिले सीमा मिचिएको विषयमा प्रधानमन्त्रीलाई उनले नै भन्ने गरेको राष्ट्रवादको खाडलमा नराम्ररी जाक्न सकिन्छ भनेर कतिपय दललाई लागेर नै सडकमा ताण्डव देखाउने प्रयास नगरेका होइनन् । तर, ओलीले यस विषयमा पनि अडान र राष्ट्रवादी छवीलाई कायम राख्न सुझबुझपूर्ण कार्य गरेका छन् ।

नागरिकस्तरमा त भारतले नेपालको भूमि मिचेको विरुद्ध एकमत थियो नै राजनीतिक दलका नेताहरूबीच पनि एकमत कायम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश हुनु गलत भएको र त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउन र नेपाली भूमिबाट भारतीय सेना हटाउन लगाउन सरकारलाई साथ दिन सबै दलका नेताहरू एकमत भएका छन् । राष्ट्रियताका आँच पुग्यो भने नेपालीहरू सबै विवाद बिर्सेर एक हुन्छन् भन्ने सन्देश संसारलाई दिने यस अग्रसरताका लागि समग्रमा सबै राजनीतिक दलका नेताहरू र विशेषगरी प्रधानमन्त्री ओली सरहनाका पात्र भएका छन् । अंग्रेजहरूले राज गरेकै वेलादेखि भारतको थिचोमिचो नेपालले सहनुपरेको हो । त्यही मिचाहा प्रवृत्ति सीमा मिच्ने अभ्यासका रूपमा वेलाबखत प्रकट हुने गरेको छ । अहिले भारतले आफ्नो नक्सामा पारेर देखाएको क्षेत्र पनि भारतले लामै समयदेखि कब्जा गरेको छ । दशगजा मिचेर सीमा स्तम्भसमेत सार्ने त गरिआएकै छ ।

भारत वा चीनसँग पौँठेजोरी खेलेर नेपालले सीमा फिर्ता लिन सक्तैन । उनीहरू ठूला देश र शक्तिशाली देश भएकाले सानो गरिब मुलुक नेपालले थिचोमिचो सहिरहनुपर्छ भन्ने पनि नेपालीका लागि स्वीकार्य हुन सक्दैन । यसैले नेपालले प्रमाणहरू जुटाएर कूटनीतिक माध्यमबाट स्पष्टसँग भारतलाई नेपाली भूभाग नमिच्न भन्नुपर्छ । नेपालभित्र यसरी राष्ट्रिय सहमति भएको अवसरलाई सरकारले कूटनीतिक अग्रसरताका लागि उपयोग गर्नु उचित हुन्छ । शान्त र शिष्ट कूटनीतिक प्रयास मात्र नेपालको शक्ति बन्न सक्छ । अहिले फाटफुटरूपमा देखिएको उग्र राष्ट्रवादको प्रदर्शन भने नेपालका लागि प्रत्युत्पादक हुनसक्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेर वा उनको पुत्ला जलाएर कालापानीबाट सेना हटाउन सकिँदैन । बरु, भारत थप चिढिन सक्छ । नेपालमा प्रकट हुने भारतविरोधी उग्रता त्यहाँको संस्थापनलाई आफ्नो हठमा कायम रहने निहुँ बन्न सक्छ । त्यसैले पनि शिष्ट कूटनीतिक माध्यमबाट यसको निकास खोजिनु आवश्यक छ । प्रधानमन्त्री ओलीको कदम यसै दिशातर्फ दृढतापूर्वक अघि बढोस् भन्ने कामना गरौँ ।

प्रतिक्रिया