सीमा अतिक्रमणबारे सर्वदलीय बैठक आह्वान

काठमाडौं । भारतसँगको सीमा विवादका विषयमा नेपालको समान धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श सुरु गरेका छन् । नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले शनिबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाएका छन् । शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य राजनीतिक दलका नेताहरूसँग बैठक डाकेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । बैठकमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्री, सीमाविज्ञ र संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई बोलाइएको छ । ‘भारतको नयाँ नक्सा र नेपालको नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका छन् । भारतसँग समयअनुसार सम्बन्ध कसरी अघि बढाउने भन्नेबारे प्रधानमन्त्रीले सबै दलसँग परामर्श गर्नुहुनेछ,’ प्रेस सल्लाहकार अर्यालले बताए ।

भारतको नयाँ नक्सा र नेपालको नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका छन् । भारतसँग समयअनुसार सम्बन्ध कसरी अघि बढाउने भन्नेबारे प्रधानमन्त्रीले सबै दलसँग परामर्श गर्नुहुनेछ – प्रेस सल्लाहकार अर्याल

परामर्शपछि सरकारले नेपालका तर्फबाट आधिकारिक धारणा बनाउने र आगामी रणनीति के गर्ने भन्नेबारेमा तय गर्ने बताइएको छ । नेपाल भारतसँग कुटनीतिक माध्यमबाट सीमाको समस्या हल गर्न खोजिरहेको स्रोतले बताएको छ । कुटनीतिक पहल गर्दा कसरी एकमत भएर प्रस्तुत हुने बारेमा प्रधानमन्त्रीले परामर्श गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकारसमर्थ हुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आग्रह गरेको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो । बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भूभाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिकएको जिकिर गरेको छ । यसैबीच, प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्री ओलीलाई बोलाएको छ ।

नेपाल–भारतबीच कालापानीका सम्बन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उनलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि कालापानीका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोही दिन बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आमन्त्रण गरेको समितिका सचिव सुरजकुमार दुराले बताए ।

प्रतिक्रिया