एमसीसीलाई विशाल अग्रता

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसीय प्रमथ श्रेणीमा तीन सय दुई रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१–२ को बलियो अवस्थामा छ । उसका टम वेस्ट्ली १७ रनमा अविजित छन् । पवन सरार्फले ११ औं ओभरमा करण केसीबाट क्याच गराउँदै ओपनर विल रोड्सलाई ३० रनमा आउट गरे । १७ औँ ओभरमा ललित नारायण राजवंशीले बिली गोडलम्यानलाई ३९ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काए ।

त्यसअघि बिहीबारनै पहिलो इनिङमा नेपाल ४४ दशमलव ४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ३९ रनमा अविजित रहे । अन्तिममा सन्दीपले २१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीबीच ४२ रनको साझेदारी भएको थियो ।

विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे । खराव सुरुआत गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटाँै विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएनको फर्काएका थिए । यासिरले पाँचौँ ओभरको दोस्रो बलमा शरद भेषावाकरलाई ४ रनमा आउट गरे ।

नवौँ ओभरको तेस्रो बलमा राजु रिजाल ८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी १६ औँ ओभरमा १ रनमा आउट भएपछि नेपाल २१–४ को कमजोर अवस्थामा पुगेको थियो । आरिफ शेख १० रनमा क्याच आउट भए । पवन सर्राफ र करण केसी समान २ रन जोड्दै पेभिलिएन फर्के । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।

त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।

प्रतिक्रिया