प्रभावकारी बन्दै पशु बिमा

काभ्रे । जिल्लामा पछिल्ला वर्षहरूमा पशु बिमा प्रभावकारी बन्दै जान थालेको छ । जिल्लाका केही पालिकाले पशु बिमालाई प्रभावकारी बनाउन किसानले तिर्ने प्रिमियम रकममा समेत थप अनुदान दिएर बिमा सुचारु गर्न थालेपछि पशु बिमा गर्न किसान आकर्षित भएको जिल्ला भेटेरिनरी अस्पतालले आयोजना गरिएको बिमाबारेको अन्तक्र्रियामा बताइएको छ ।

जिल्ला भेटेरिनरी अस्पतालतथा पशु सेवा विज्ञकेन्द्रका प्रमुख डा. मोगलप्रसाद शाहले कार्यक्रममा आफ्नो कार्यपत्र पेस गर्दै बाली तथा पशुपन्छी बिमा निर्देशन–२०६९, बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका–२०७० (पहिलो संशोधन–२०७१) जारी भएपछि काभ्रेमा पनि त्यसको प्रभाव जम्दै गएको बताएका छन् । उनले अमेरिकामा ५८ प्रतिशत, पश्चिम युरोपमा २८ प्रतिशत, एसिया चार प्रतिशत, ल्याटिन अमेरिकामा दुई प्रतिशत, विश्वको बाँकी भागमा ६ प्रतिशत, बाली बिमामा ७१ प्रतिशत, असिनाबाट हुने बालीको क्षतिको बिमामा २२ प्रतिशत, खडेरी, बाढी, किरा, रोगको कारण हुने बाली क्षतीको बिमामा ५८ प्रतिशत र पशु बिमामा १२ प्रतिशत रहेको उल्लेख गरे ।

उनले ग्रामीण क्षेत्रमा साना फार्महरू, बिमासम्बन्धी ज्ञानको कमि, आर्थिक कमजोरी, बिमा सेवाको कमजोर संजाल तथा ग्रामीण क्षेत्रमा सेवा खर्चिलो हुनाले सरकारी तथा निजी बिमा कम्पनीहरू बिमा सेवाप्रति अनाकर्षण भएको र यो ठूलो चुनौतीको रूपमा रहेको बताए । उनले बिमा कम्पनीहरूले बिमा अवधिमा आगलागी, बाढी, आँधीबेरी÷हड्ताल÷दंंगा, आतंकबाद, भुइँचालो र तोकिएको बाहेकका रोगब्याधी आदिको कारण पशुको मृत्यु भएमा क्षतिपूर्ति दिनुपर्ने बताए ।

कार्यक्रममा पनौती नगरपालिकाका पशुपन्छी शाखाप्रमुख मणीप्रसाद सापकोटाले इपिडेमिक पशु रोगविरुद्ध पशु बिमा कम्पनीहरू उत्सुक देखिँदैनन् किनभने रोग फैलिएपछि माग गरिने क्षतिपूर्ति अत्यधिक हुन जान्छ । त्यसअनुसार सामुदायिक बिमा पनि कम्पनीमा आबद्धता हुनुपर्ने र कम्पनीले पशुसँगै पन्छी र बालीको उत्पादनका आधारमा बिमा गर्नुपर्ने तर्क गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बिमा समिति काभ्रेका सदस्यसमेत रहेका दीपक पौडेलले काभ्रे जिल्लाको सवालमा १० वर्ष अघिबाटै बिमा सुरक्षण कार्यक्रम ढुंखर्कबाट सूचारु भएको बताए । उनले पहिले कृषि बैंकले आफ्नो ऋण सुरक्षण गर्नका लागि मात्रै बिमा गर्ने गरेको भए पनि अहिले सामुदायिक बिमा समिति र सहकारीमार्फत बिमा गर्ने प्रचलन बढेको बताए । उनले राज्यको नीतिमा बिमाबारे कमजोर भएको र तीनै तहका सरकारले जनताको आम्दानीको मुख्य स्रोत बुझेपछि मात्रै अझ प्रभावकारी तरिकाले आर्थिक सुधार हुने बताए । उनले कृषि विकास बंैकले किसानको लाखौँ रुपैयाँ होल्ड गरेर बसेको समेत बताए ।

कार्यक्रममा बिमा कम्पनीका तर्फबाट उदयराम कायस्थले बिमा गर्ने प्रक्रियाबारे बताएका थिए । कार्यक्रम सञ्चालन अस्पतालका पशु विकास अधिकृत राजकुमार हुमागार्इंले गरेका थिए । आफ्नो शाखामा भएका गतिविधिबारे पनौती नगरपालिकाका पशुपन्छी शाखाप्रमुख मणीप्रसाद सापकोटा, मण्डन देउपुरबाट ध्रुव पराजुली, रोसी गाउँपालिकाबाट रघुनी शाह, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, लगायतका शाखामा बिमाको गतिविधिहरू प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया