बाढीपीडितलाई राहत वितरण

मुगु । गएको ३२ साउनमा परेको अविरल वर्षाका कारण गमगाढ खोलामा आएको बाढीले पीडित बनेका बाढीपीडितलाई बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो । गएको ३२ साउनको अविरल वर्षापछि छायानाथ रारा नगरपालिका–१, ४, ६ र ७ मा पर्ने गमगाढ खोलामा आएको बाढीले स्थानीयवासीको हजारौँ रोपनीमा लगाएको अन्नवाली बगाएको थियो ।

बाढीले खेतबारीमा लगाएको अन्नवाली बगाएपछि खल्लो मन लिएर दसँै मनाएका स्थानीयले नगरको राहतले केही हल्का भएको महसुस गरेको बाढीपीडित वडा–६ बालै बगरका स्थानीय जीवन रावलले बताए । नगरपालिकाले वडा–६ बालै, कोटीला र वडा–७ पिना र तलि घुइँरका २ सय ३० घरधुरीलाई एक÷एक प्याक चामल र एक÷एक प्याकेट खाने तेल प्रदान गरिएको छायानाथ रारा नगरपालिकाले जनाएको छ ।

वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध हुँदा बजारमा सामान अभाव भएको र बजारमा भएको सामान पनि बाटोकै कारण पीडित जनताका घरसम्म लैजान नसकिएकाले राहत वितरणमा ढिलाइ भएको छायानाथ रारा नगरपालिकाले जनाएको छ । बाढीले ठूलो क्षति गरिदिएको र एक प्याक चामलले केही पनि नपुग्ने भए पनि तत्कालका लागि राहत प्रदान गरिएको र अब बाढीपीडितका लागि आय आर्जनका कार्यक्रम सुरु गरिने छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए ।

नगरपालिकाभित्र कृषि, पशुपालन, जलवायु परिवर्तन लगायतका क्षेत्रमा काम गर्न चाहने सरकारी तथा गैरसरकारी संस्था र स्वयं नगरपालिकाले बाढीले प्रभावित बनेका मुन्दु, कोटिला, पिना, तलि घुइँर, बालै, जुकेना, भामबाडा र छत्यालबाडालाई चालु आवमा पहिलो प्राथमिकता दिई विकास निर्माणदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख शाहीको भनाइ छ ।

प्रतिक्रिया