कन्टेनरमा ३९ शव फेला

लण्डन । बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । शवहरू मध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको बताइएको छ ।

प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट होलिहेड हुँदै शनिबार बेलायत छिरेको थियो । हत्याको आशंकामा प्रहरीले नर्दन आयरल्यान्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरेको छ । शवहरूको पहिचान गर्ने प्रयास भइरहेको एसेक्स प्रहरीले जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएका छन् ।

प्रहरीले औद्योगिक क्षेत्र बन्द गरेर घेराबन्दी गरेको छ । राष्ट्रिय अपराध अनुसन्धान विभागले घटनाबारे छानबिन गर्नका लागि अनुसन्धान अधिकृतहरू त्यस क्षेत्रमा खटाइएको जनाएको छ । यसअघि सन् २००० मा ५८ जना चिनियाँ आप्रवासीको शव लरीको पछाडि फेला पारिएको थियो । डोभरमा भएको उक्त घटनामा दुई जना भने जीवितै थिए ।

प्रतिक्रिया