महाभारतकालीन झल्को

झापा । महाभारतकालीन पौराणिक कथाका पात्रका विभिन्न प्रतिमा अर्जुनधारा जलेश्वरधाममा राखिने भएको छ । अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतका विभिन्न पात्रहरूसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको हो ।

बाह्र वर्ष बनवास बसेका वेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाँण हानी धरतीबाट पानीको मूल फुटाएको किंवदन्ती महाभारत कथामा उल्लेख छ । उक्त स्थानमा हाल अर्जुनधाराधाम रहेको मानिँदै आएको छ । अर्जुनधारा नगरपालिकाले धामको प्रवेशमार्ग समेत रहेको शनिश्चरे बजारमा महाभारतकालीन कथामा वर्णित पात्रको कलात्मक झलक प्रस्तुत गर्न ४६ लाखमा विभिन्न मूर्ति निर्माण गरिरहेको नगरप्रमुख हरि रानाले जानकारी दिए ।

मूर्ति बनाउन कमल गाउँपालिका–५ का मूर्तिकार भक्तिमान राईलाई जिम्मा दिइएको छ । नगरपालिकाको नामकरणसमेत अर्जुनधाराधामकै प्रसिद्धिका कारणले भएकाले महाभारत कथाका विभिन्न पात्रका मूर्तिले नगरपालिकाको सांस्कृतिक वैभवलाई जीवन्त बनाउने नगरप्रमुख रानाले बताए ।

उनले भने, ‘मूर्ति सजाएपछि अर्जुनधारा धार्मिकस्थलको महत्व स्थापित हुने र यहाँ तीर्थाटनमा आउने पर्यटकको संख्या बढ्ने विश्वास लिएका छौँ ।’ बनाइएको प्रतिमामा भगवान् श्रीकृष्णले हाँकेको रथमा योद्धा मुद्रामा उभिएका गान्डिव धनुषधारी अर्जुन र तिर्खाएका गाईलाई प्यास मेटाउन धरतीबाट जलधारा निकाल्न बाण हान्दै गरेका अर्जुन ज्यादै कलात्मक र आकर्षक छन् । अर्जुनधाराको शनिश्चरे झापाको पुरानो बजार र साहित्यिक केन्द्र हो ।

आदिवासीले गोरुगाडा हाँक्दै गरेको विशाल मूर्ति शनिश्चरेमा राखिने नगरप्रमुख रानाले बताए । शनिश्चरेमा राख्नका लागि साहित्यकार एवं शिक्षासेवी महानन्द सापकोटाको पूर्णकदको प्रतिमा, आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको अर्धकदको प्रतिमासमेत निर्माण भइसकेको छ । तामाको छानो लगाएर प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको अर्जुनधारा मन्दिर परिसरमा अर्जुनले बाण हानेर निस्किएको पानीले बनेको धार्मिक विश्वास गरिने जलकुण्डसमेत छ । उक्त धार्मिकस्थलको चित्र नेपालको हुलाक टिकटका रूपमा छापिएको छ ।

प्रतिक्रिया