पीडित झनै ठूलो त्रासमा

रौतहट । २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेसका नेता मोहम्मद आफताब आलम पक्राउ परेपछि पीडित झनै त्रासमा परेका छन् । प्रहरी हिरासतमा रहेका उनी त्यहाँबाट छुटे आफूहरूमाथि झनै ठूलो आक्रमण हुने चिन्ताले उनीहरूलाई सताइरहेको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भई घाइते भएकालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा उनी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको कडा निगरानीमा रहेका आलमको आतंक अहिले पनि गाँउमा उस्तै देखिएको छ ।

कुनै नौलो मानिस प्रवेश गरे, उसको पिछा गर्ने र घटनाबारे कसैसँग सोधपुछ गरेर कसैलाई जवाफ दिन नदिने र घटनास्थल कटाएर मात्र फर्कने गरेका छन् । इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको समूहले ज्यान लिन सक्ने भन्दै त्रस्त छन् । जघन्य अपराधमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री आलम यदि अदालतबाट छुटेमा आफूहरू असुरक्षित हुने पीडित परिवारले बताएका छन् ।

बमकाण्डमा कान्छो छोरो त्रिलोकी प्रताप सिंह गुमाएका यमुनामाई गाउँपालिका–४ निवासी ७९ वर्षीय पिता श्रीनारायण सिंहले अहिले पनि आलम र उनका गुण्डाहरूको डर त्रासमा बस्नु परेको बताए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ (साविक राजपुर(४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका यमुनामाई गाउँपालिका–४ (साविक सरुअठा–४) का त्रिलोक प्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा बनाउने चिम्नी भट्टामा जिउँदै जलाएको आरोपमा कांग्रेसका संघीय सांसद आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।

आलमलाई जमानतमा छुटाउन शक्तिकेन्द्रको चलखेल भइरहेका बेला पीडितहरू त्रसित छन् । मृतक त्रिलोकीका बुबा श्रीनारायण सिंह त्रासमा बाँच्न बाध्य एक गाउँले हुन् । ‘यदि आलम प्रहरीबाट छुटे भने रोक्सना खातुनलाई जसरी हामीलाई पनि मारिदिन्छ’, श्री नारायण भन्छन्, ’यहाँ (रौतहट) का न्यायमूर्तिलाई यस्तो गलत निर्णय नगरिदिन आग्रह गर्दछु ।’ बम विस्फोटपछि इँटा भट्टामा जिउँदै जलाइएका अर्का युवा ओसी अख्तरका लागि न्याय खोज्दा खोज्दै उनकी आमा रुक्सानकोसमेत गोली हानी हत्या भएको थियो ।

आलमलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । आलमको म्याद कात्तिक ३ गते अर्थात् आइतबार सकिँदै छ । श्रीमानको हत्या भएपछि बिचल्लीमा परेकी ओसी अख्तरकी श्रीमतिले अहिले दैनिक रोजीरोटीमै चलाउन समस्या भएको बताइन् । श्रीमानका हत्यारालाई पक्राउ गर्न जाहेरी दिएकी सासु रोक्सना खातुनको पनि हत्या भएपछि आफू विचलित भएको उनले सुनाइन् ।

देउवाले बोली फेरे
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञाप्ति जारी गर्दै अघिल्लो दिन आफूले दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शुक्रबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सभापति देउवाले आफ्नो पार्टीका निलम्बित सांसद आलम निर्दोष रहेको दाबी गर्दै भनेका थिए, ‘उहाँ निर्दोष हुनुहुन्छ तर सरकारले नेपाली कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्रअन्तर्गत पक्राउ गरेर फँसाउन खोजेको हो ।’

सभापति देउवाले सरकारलाई र नेता कृष्णप्रसाद सिटौलाले मिडियालाई दोष दिँदै अफताभ आलम पक्राउ पर्नु षड्यन्त्र भएको दाबी गरेका थिए । सभापति देउवा र सिटौलाको यो अभिव्याक्तिप्रति नेपाली कांग्रेसकै वृत्तबाट गम्भीर आपत्ति प्रकट गरिएपछि शनिबार सभापति देउवाले आफ्नो भनाइ फिर्ता लिएका हुन्, तर नेता सिटौला भने मौन छ । सभापति देउवाले विज्ञप्ति जारी गर्दै अफताभ आलम निर्दोष हुन् भन्ने आशय आफ्नो नरहेको जनाएका छन् । उनले १२ वर्ष अघिको मुद्दा अहिले व्युँताउँदा निष्पक्ष छानबिनमा असर पर्ने कुरामा मात्रै आफ्नो चासो रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ –‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिकरूपले प्रस्ट्याउन चाहन्छु ।’

कांग्रेस सभापति देउवाले विगत १२ वर्षको अवधिमा सरकारको कमजोरी भएको बताएका हुन् कि, अदालतको कमजोरी भएको बताएका हुन् कि, प्रहरीको कमजोरी भएको बताएका हुन् ? भन्ने प्रश्नको स्पष्ट उत्तर भने विज्ञप्तिमा छैन । सरकारको कमजोरी भएको दाबी गरेका हुन् भने यो १२ वर्षको अवधिमा अधिकांश समय नेपाली कांग्रेस नै सत्तामा थियो ।

२०६४ साउनसम्म नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । ०६६ देखि करिब डेढ वर्ष एमालेका नेता मधावकुमार नेपालको नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस मुख्य घटकका रूपमा सामेल थियो । २०७० मंसिरदेखि ०७२ असोजसम्म नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री थिए । २०७३ साउनदेखि ०७४ जेठसम्म माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस मुख्य घटकका रूपमा सामेल थियो ।

२०७४ जेठदेखि फागुनसम्म कांग्रेस सभापति देउवा स्वयं प्रधानमन्त्री थिए । यसरी १२ वर्षको यो अवधिमा करिब ६ वर्ष नेपाली कांग्रेस सरकारमा रहेको देखिन्छ । त्यसैले यो १२ वर्षको अवधिमा सरकार के हेरेर बसेको थियो ? भन्ने प्रश्न देउवाप्रति स्वयं लक्षित छ । यसैगरी प्रहरीले कमजोरी गरेको भन्ने देउवाको आशय हो भने त्यतिबेला यो मुद्दा ढिसमिस बनाउन खोज्ने रौतहटका एस पि जयबहादुर चन्द देउवाका अति निकट हुन् ।

उनै चन्दलाई देउवाले रोलक्रम मिच्दै आइजीपि बनाउन लगाएका थिए । यदी अदालतमाथिको प्रश्न हो भने नेपाली कांग्रेस जस्तो विधि र प्रक्रिया मान्ने पार्टीले न्यायपालिकाको स्वतन्त्रतामाथि धावा बोल्न मिल्दैन । न्यायपालिकाको आदेश प्रहरीले पालना गर्दा जिम्मेवार राजनीतिक दलले आपत्ति प्रकट गर्नुपर्ने प्रश्नै उठ्दैन ।

घटनाक्रम हेर्दा नेपाली कांग्रेसको नेतृत्वको सरकार भएको बेलामा यो मुद्दा दर्ता नगर्ने निर्णय भएको र यसको कार्यान्वयन तत्कालीन महान्यायधिवक्ता यज्ञमूर्ति बन्जाडे र रौतहट जिल्लाका तत्कालीन एस पी जयबहादुर चन्दले गरेको देखिन्छ । त्यसैले १२ वर्ष अघिको मुद्दा अहिले किन ब्युँत्याइयो ? भन्ने प्रश्न पनि सभापति देउवाले फिर्ता लिनै पर्ने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया