शिक्षा

कक्षाकोठा अभावले पढाइमा समस्या

सौर्य अनलाइन २०७६ कार्तिक २ गते ८:२९ मा प्रकाशित

बागलुङ । ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव छ । विद्यालयमा ५ सय ९० विद्यार्थीले पढ्छन् । ठूला कोठालाई बारेर पढाउनुपर्ने बाध्यता छ । जीर्ण बनेको छात्रावास भवनमासमेत कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयलाई पाँच कोठा तत्कालै चाहिएका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए । ‘कक्षाकोठा व्यवस्थापन भए पनि पठनपाठनमा सहजता छैन’, उनले भने, ‘एउटै कोठालाई बारेर दुई कक्षा चलाउनुपर्दा अप्ठेरो छ ।’ सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उनले बताए । यही शैक्षिक सत्रदेखि पशु विज्ञान विषयको पढाइ सुरु भएपछि विद्यार्थी झन् बढेका छन् ।

विद्यार्थी संख्याका आधारमा भौतिक पूर्वाधारको भने कमी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले शिक्षा विभाग र पुनर्निर्माण प्राविधिकरणमा भवनको माग गरिएको बताए । ‘शिक्षामा आठ कोठे भवन र प्राधिकरणमा चार कोठे भवनका लागि माग गरेका छौँ’, उनले भने । प्राधिकरणको सहयोगमा गत आवमा दुई कोठे भवन बनेका थिए । अहिले विद्यालयमा १८ कक्षाकोठा छन् । बालशिक्षामा कक्षा थप भएपछि कोठा पनि बढाउनुपरेको प्रअ रोकाको भनाइ छ । उनका अनुसार विद्यालयले कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाउँदै आएको छ ।

भवनसँगै छात्रावास, खेल मैदान, शौचालयलगायत भौतिक संरचनाको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ । गाउँपालिकाको केन्द्रमा रहेको र विद्यार्थी संख्यासमेत बढी भएका कारण सम्बन्धित निकायले बजेटमा प्राथमिकता दिनुपर्ने विद्यालय व्यवस्थापनको माग छ । गाउँपालिकाले उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने जनाएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन् । विद्यालयले कक्षा ११ र १२ मा मानविकी, शिक्षा र व्यवस्थापन संकाय सञ्चालन गरेको छ । प्राविधिक धारतर्फ पशु विज्ञान विषयमा ३८ विद्यार्थी अध्ययनरत छन् । उक्त विषयको पठनपाठनका लागि पनि थप कक्षाकोठा र प्रयोगशाला भवनको आवश्यकता छ ।

प्रतिक्रिया