‘योद्धाको सपना’ माथि परिचर्चा

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समीक्षा’ द्वारा लिखित ‘योद्धाको सपना’ कविता संग्रहमाथि परिचर्चा गरिएको छ । राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा समीक्षकले देवकी राष्ट्रिय चेतना भएकी रहेको धारणा राखे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कला, साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौँ क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । उनले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकलाई खबरदारी गरेको जिकिर गरे । उनले भने, ‘जनयुद्धको एकजना सेना, कलाकार हुँदै आज कविकारूपमा स्थापित भएकी छन् ।’

प्रा.डा.माधवप्रसाद पोखरेलले परम्परागतरूपमा जकडिएको हैकमवाद विरुद्ध लड्न युद्ध मैदानमा उत्रेकी कवयित्रीले नेपाली समाजको रूपान्तरणमा योगदान दिए पनि अझै धेरै कुरा बाँकी रहेको धारणा राखे । उनले भने, ‘जबसम्म नेपालको जस्तो अटेरी प्रशासन हुन्छ तबसम्म प्रचण्ड त के चे ग्वेभारा नै यहाँ आए पनि देश परिवर्तन हुँदैन । विश्वमा माक्र्सवादका नयाँ संस्करणहरू आएको वेला कवि देवकीले अझै नयाँ कविता लेख्नुपर्दछ ।’

कार्यक्रममा कवि डा.नवराज लम्सालले आफू बाँचेको समयमा टेकेर कविले वास्तविकता र भोगाइमा इमान्दार भएर कविता रचेको बताए । उनले देवकी एक महान् कवि बन्ने सम्भावना रहेको जिकिर गरे । त्यस्तै, समालोचक डा.विन्दु शर्माले अभिव्यक्तिलाई मौलिक भाषा र बिम्बमा प्रयोग गर्दै कवि देवकीले राम्रा कविता लेखेको बताइन् । उनले जनयुद्धमा लडेका योद्धाहरूको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको रूपमा कविता संग्रह आएको दाबी गरिन् ।

कार्यक्रममा रमेश शुभेच्छुकले देवकी क्रान्तिचेतनाको कवि भएको बताए । उनले भने, ‘कविका प्रत्येक कवितामा जीवन्तता छ । उहाँ विचार र कलाको संयोजन गर्नसक्ने क्षमतावान् कवि भएको पुष्टि भएको छ । जनयुद्धको रापतापबाट खारिएर आएको व्यक्तित्व भएकाले उहाँ सर्वाधिक चर्चित कवि हुने सम्भावना छ ।’

उनले कवि देवकी राष्ट्रिय, मानवीय, क्रान्तिकारी चेतना भएकी युद्धकवि भएको बताए । कवि देवकीले आगामी दिनमा यस्तै भोगाइमा रहेर साहित्य लेख्ने बताइन् । उनले विगतमा देखेको सपनालाई पूरा गर्न सधैँ लागि पर्ने धारणा राखिन् ।

कार्यक्रममा डा.दीपेन्द्र रोकायाले जीवनलाई हत्केलामाथि राखेर समाज परिर्वनको बाटोमा लाग्ने कमै हुने भन्दै त्यही परिवर्तनको बाटोमा आफू र आफ्नी जीवनसंगिनी कवि देवकी निरन्तर लाग्ने धारणा राखे ।

प्रतिक्रिया