युवतीलाई अपहरण गर्ने ३ जना गाडीसहित पक्राउ

लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भारतीय नम्बरको बिआर ३२ प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो ।

लहानस्थित दुर्गा मन्दिरमा सांस्कृतिक कार्यक्रम हेरेर आज बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अपहरण गरी लैजाँदै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फँसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र (लाइसन्स) र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले एसएलआर राइफलको गोलीसहित आजै एक युवकलाई पक्राउ गरेको छ । भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीचौकी बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले एक थान एसएलआर राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया