कुर्दिशविरुद्धको लडाईमा टर्की पनि तयार

एजेन्सी । कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ । उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता गरिएलगत्तै सो क्षेत्रमा टर्कीले दर्जनौँ सैन्य गाडी पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरूलाई भने नत्यागेको बताएका छन् ।

अमेरिकाले कुर्दिश समूह रहेको इलाकाबाट आफ्नो फौज फिर्ता लगेर उनीहरूमाथि टर्कीको हमलाका लागि बाटो खोलिदिएको भनाई पनि आएको छ । कुर्दिश फौजले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भएको आरोप लगाएका छन् । इस्लामिक स्टेट्स (आइएस) लडाकू पराजित गर्न अमेरिकालाई सघाएका ती फौजले पीठमा छुरा प्रहार गरिएको प्रतिक्रिया उनीहरुले दिएका छन् ।

तर, राष्ट्रपति सिरियामा तैनाथ १ हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरेका छन् ।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगान राष्ट्रपति ट्रम्पको निम्तोमा नोभेम्बर १३ मा अमेरिका भ्रमणमा आउने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

प्रतिक्रिया