६ कृति विमोचित

काठमाडौं । तीन सर्जकका ६ कृति वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले एकसाथ विमोचन गरेका छन् ।

उनले भुवन शिवाकोटी चौघरेको चार कृति ‘नच्यातिएको आकाश’, ‘प्रणयको गहराइ’ (कविता संग्रह), एकल शब्द र संगीत र गायनको आधुनिक गीति एल्बम अतुलनीय प्रित गरे, एकल शब्द र संगीत र गायन तथा अभिनय रहेको राष्ट्रिय गीत ‘बहुल जातिको मातृभूमि यो भिन्न छ भाषा धर्म भेष’को अडियो भिडियो रहेका छन् ।

यसैगरी प्रा. गोपिकृष्ण शर्माको ‘महिमा’ खण्डकाव्य र निर्मलरमण पराजुलीको ‘देश लेख्न हतार छ’ कविता संग्रहको विमोचन पनि गरिएको छ । विमोचित पुस्तकका बारेमा संक्षिप्त समीक्षा डा. भागवत ढकाल, डा. लेखराज निरौला, डा. साधन पञ्च प्रतीक्षा र डा. रामप्रसाद ज्ञवालीले गरेका थिए । कार्यक्रममा भुवन शिवाकोटीद्वारा लिपीबद्ध तथा संगीतबद्ध आधुनिक गीत र राष्ट्रिय गीत समेत प्रस्तुत गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले नेपाली साहित्यको विकासमा स्रष्टाले महत्वपूर्ण योगदान दिएको बताए । उनले विमोचित कृतिले नेपाली वाङ्मय समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, यादव भट्टराईले नेपाली साहित्याकाश फराकिलो बन्दै गएको बताए । कार्यक्रममा साहित्यकार ठाकुर शर्माले नेपाली कला, साहित्य तथा संस्कृतिको विकासविना राज्य समृद्ध बन्न नसक्ने जिकिर गरे ।

प्रतिक्रिया