निष्पक्ष छानबिन होस्

नेपाली भाषामा एउटा उखान छ, ‘मिल्दा मेला, नमिले झमेला ।’ सभामुख कृष्णबहादुर महराको हकमा यतिवेला यो उखान चरितार्थ भएको छ । सभामुख महराले निकै लामो समयदेखि संसद् सचिवालयकी एक महिला कर्मचारीलाई साथी बनाएका थिए । कहिलेकाहीँ मन बहलाउन उनी ती महिलाकहाँ पुग्ने गर्दथे । उनीहरूको आउ जाउ सामान्य बनिसकेको थियो, तर आइतबार रातिको भेटघाट भने दुवैजनाका लागि निकै दुर्भाग्यपूर्ण भयो । ती महिलाका श्रीमान् तनहुँ गएको मौका पारी सभामुख महरा आइतबार राती डेरामा पुगे । केही घन्टा विताएर फर्किए । उनी फर्के लगत्तै ती महिलाले प्रहरी, मिडिया, केही सांसदहरूलाई फोन गरेर सभामुख महराद्वारा आफू बलात्कृत भएको दाबी गरिन् । उनको यो दाबी निकै गम्भीर हो । ती महिलाको यो दाबी मिडियामा आएपछि सभामुख महरामाथि राजीनामा दिनुपर्ने चौतर्फी दबाब सुरु भयो । उनलाई सभामुख बनाउने पार्टी नेकपाको उच्च स्तरीय बैठकले राजीनामा दिन आग्रह गर्यो । उक्त आग्रह स्वीकार गर्दै सभामुख महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिए । नेपालका सन्दर्भमा यौनकाण्डमा मुछिएर प्रभावशाली राजनीतिकर्मीको पद धरापमा परेको पहिलो घटना हो । यस अघि बहालवाला मन्त्री बलबहादुर केसीमाथि पनि एक महिलाले यस्तै आरोप लगाएकी थिइन्, तर मन्त्री केसीले राजीनामा दिएनन्, आरोप पनि पुष्टि हुन सकेन ।

आरोप लागेका सभामुख महराले नैतिकताका आधारमा राजीनामा दिइसकेको अवस्था एकातिर छ भने अर्कातिर आरोप लगाउने महिला स्वयं सार्वजनिक भइसकेकी छिन् । घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन खासै जटिलता देखिँदैन । आफ्नी श्रीमती हुँदाहुँदै परस्त्रीसँग सम्बन्ध राख्नुलाई हाम्रो संस्कारले राम्रो मान्दैन । त्यसमा पनि सभामुख महरा भनेका जनप्रतिनिधिहरूका पनि प्रतिनिधि हुन्, अर्थात माननीयहरूका पनि सम्माननीय । लामो समयदेखि ती महिलासँग आफ्नो सम्बन्ध रहेको र आफू वेला मौकामा उनको घरमा जाने गरेको सभामुख महराले स्वीकार गरिसकेका छन् । तर, महिलाले यतिवेला लगाएको आरोप भने संगीन छ । उनले बलात्कारको आरोप लगाएकी छिन् । सहमतिमै शारीरिक सम्बन्ध भएको रहेछ भने पनि महिलाले बलात्कार भयो भन्दै प्रहरीमा उजुरी गरेको अवस्थामा छानबिनका लागि निकै झमेला उत्पन्न हुने गर्दछ । सहमतिमै हो या जबरजस्ती हो, भन्ने कुराको मिहिन छनबिन आवश्यक छ ।

सरकारले इच्छा शक्ति देखाउने हो भने यो घटनाको मिहिन छानबिनका लागि खासै ठूलो समस्या देखिँदैन । ती महिलाले महराले भाइबरमा पनि पटकपटक आपत्तिजनक म्यासेज पठाएको भनेकी छिन् । यदि त्यसमा सत्यता छ भने महिलाले भाइबरको म्यासेज पनि सार्वजनिक गर्न सक्नेछिन् । त्यसबाट पनि केही कुरा बाहिर आउनेछ । मोबाइल टेक्नोलोजीमा सिडिआर अर्थात् कल डिटेल्स रिपोर्ट हुन्छ । त्यो रिपोर्ट अध्ययन गर्ने हो भने उनीहरूबीच अहिलेसम्म शारीरिक सम्बन्ध भयो कि भएन ? आइतबारको घटना बलत्कार हो वा होइन ? भन्ने सत्यतथ्य खुल्छ । सभामुख महराले यदि ती महिलामाथि यौन अपराध गरेकै हुन् भने महिलाले प्रहरीकोमा उजुरी दिएर स्वास्थ्य परीक्षण गराउन सक्नेछिन् । स्वास्थ्य परीक्षण गराउँदा महिलाको भेजाइनल स्वाबको स्याम्पल लिएर महराको विर्यसँग ‘म्याचिङ’ गराउन सकिनेछ । यदि यौन अपराध अर्थात् बलात्कार नै गरेका हुन् र अपराध गर्दा कण्डमको प्रयोग भएको छ भने भने भेजाइनल स्वाबमा त्यो स्याम्पल भेटाउन सकिँदैन । तर, अर्को उपाय भने बाँकी नै रहनेछ । त्यो उपाय के हो भने महिलाको शरीरमा रहेको घाउबाट डिएनए स्याम्पल लिने । ती महिलाले भनेअनुसार त्यो चिथोरिएको घाउ महराबाटै भएको अपराध हो । यदि त्यो महराले नै गरेका वा गराएका हुन् भने महराको डिएनएसँग म्याचिङ गर्न सकिनेछ । तर, मंगलबार अपरान्हसम्म उनले न त प्रहरी कहाँ लिखित उजुरी गरेकी छिन् न त स्वास्थ्य परीक्षणका लागि तयार देखिएकी छिन् । राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरिदिएकोमा महरालाई धन्यवाद दिनुपर्छ । अब ती महिलाले पनि छानबिनका लागि सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया