‘चाडबाडमा मन रुन्छ’

महोत्तरी । मनराशिशवा नगरपालिकाको सहसराम बस्तीकी ५० वर्षीया इन्द्रकला कापरको मन चाडबाड लाग्यो कि कुँडिन्छ । कुष्ठरोगले गाँजेर धनुषाको लालगढ कुष्ठरोग अस्पतालमा उपचारपछि त्यहींँकै अनाथ आश्रममा आश्रय लिँदै आएकी कापरलाई घरपरिवारले खोजी नगरेपछि चाडबाडमा उनको मन रुन्छ ।

‘देखु हजुर, दशहरा पावैन आयल, मुदा हमर घर स कोनो खोजीपुछारी नई अई’ (हेर्नोस् हजुर, दसैं पर्व आयो तर मेरो घरबाट कहिल्यै सोधखोज आएन) अस्पताल मातहतकै अनाथ आश्रममा पछिल्ला तीन वर्षदेखि बस्दै आएकी कापरले भनिन्, ‘अई ठाम खाए पिबमे आ रहमें कोनो दिकत नई अई, मुदा मने त अई, पावैन तिहारमें घरक याद अवैत अछि’(यहाँ खान, बस्न त केही अप्ठ्यारो छैन तर मन नै त हो, चाडपर्व मुखमा आएपछि घरको सम्झना हुँदो रहेछ ।)

युवावस्थामै कुष्ठरोग भएपछि विवाह नगरेकी कापरका घरमा दाजुभाइ र भदाभदै छन् । रोग देखिनबित्तिकै घरबाहिर एउटा छाप्रामा राखिएकी कापर अस्पताल आइपुग्नु चाहिँ नयाँ जिन्दगीको सुरुआत भएको बताउँछिन् । लगातार दुई वर्षको उपचारपछि कापरको रोग निको भए पनि हात भने कुँजिएका छन् । त्यसयता घरका कोही खोज्न नआएकाले कापर अस्पतालको अनाथालयमा बस्दै आएकी हुन् । पाँच वर्षअघि लालगढ अस्पतालमा आफ्नो रोगको उपचार गराउन आएकी कापरलाई अब अस्पतालको आश्रम नै संसार बनेको छ ।

कापरजस्तै महोत्तरीकै बर्दिबास नगरपालिका–५ चेरुका ७५ वर्षीय हर्कमान तामाङ , आफ्नो नाम घरठेगाना बताउँ नै नसक्ने लालबहादुर नेपाली (अनाथालयमै राखिएको नाम), ओखलढुंगाका मनोज घर्ती मगर र काठमाडौंका ७१ वर्षीय हरिबहादुर श्रेष्ठसहित १० जना उपचारपछि अनाथालय (आश्रम) मा बस्दै आएका छन् ।

विदेशी दाताको सहयोगले नौ कठ्ठा जग्गा किनिएर त्यहाँ बनेको आश्रम भवनमा उपचारपछि आफन्तले नखोजेका विभिन्न उमेरका असहाय र कुष्ठरोग उपचार गरिरहेका गरीब परिवारका १० बालिका बस्दै आएका छन् । बालिका र उपचारपछि त्यहींँ (आश्रममा) नै बस्दैआएका सबैको खानपिन, आवास र पढाइ खर्च (१० बालिका) को जोहो अस्पताल मातहतकै ‘आशाको परिवार नेपाल’ भन्ने संस्थाले गर्दै आएको छ ।

आवासका लागि उपचारपछि यहाँ बस्दैआएका अनाथका लागि खानेपानी धारा, शौचालय र विद्युत् सुविधासहितको पाँच÷पाँचकोठे दुई पक्की भवन र छुट्टै भान्सा घर छ । त्यसैगरी अहिले अध्ययनरत १० बालिकाका लागि छुट्टै तीनतले पक्की भवन छ । बालिकाका लागि भान्सा कोठा, अध्ययनकक्ष, आवासकक्ष र मनोरञ्जनकक्षसहितको सुविधायुक्त सो पक्की भवनमा बस्ने बालिकाहरू आश्रम नजीकको नमुना विद्यालयमा अध्ययनरत छन् ।

प्रतिक्रिया