चरम लापरबाही

राजधानी काठमाडौं आउने र बाहिरिने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधन जाम हुँदा शुक्रबार बिहान रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भयो । साह चढेको बस राति २ बजेदेखि जाममा परेको थियो । मृगौला रोगबाट पीडित साहको जाममा परेको तीन घण्टापछि बिहान ५ बजे मृत्यु भएको हो । थानकोट नौबिसे सडकखण्ड दशकौँदेखि सवारीसाधन जाम हुने क्षेत्र हो । धेरै घुम्ती तथा उकालो सडक भएकोले सवारीसाधनको गति यसै पनि कम हुन्छ । दैनिक १२ देखि १५ हजार सवारीसाधन गुड्ने सडकमा गति कम हुनासाथ जाम हुनु स्वभाविकै हो । त्यसमा पनि कहिले कहीँ यही खण्डमा सवारीसाधन बिग्रन्छन् । दशकौँदेखि यो समस्या जारी रहे पनि नेपालीहरूको ठूलो चाड दसैँको सेरोफेरोमा भने हरेक वर्ष यो समस्या विकराल बन्दै गएको छ । यस वर्ष पनि असोज महिना लागेसँगै यो खण्डमा सवारीसाधनहरू दैनिक ६–७ घण्टाको जाममा फस्ने गरेका छन् । यति लामो समयसम्म जाममा फस्दा यात्रुको हालत के हुन्छ भन्ने कुरा शुक्रबार भएको ज्यादै दुःखद् घटनाले पुष्टि गरेको छ ।

दसैं सुरु भएपछि घटस्थापनाको दिनसम्म राजधानी भित्रिने मालवाहक सवारीका कारण जाम हुने गर्दछ भने घटस्थापना पछि यात्रुबाहक सवारीसाधनका कारण जाम हुने गर्दछ । आकस्मिक उत्पन्न समस्या भएको भए अथवा प्राकृतिक प्रकोप (बाढी पहिरो) का कारण समस्या उत्पन्न भएको भए एउटा कुरा हुन्थ्यो, तर यो समस्या त दशकौं अघिदेखि पहिचान भएको हो । त्यसैले, यो समस्यालाई सरकार तथा सरकारी संयन्त्रको चरम लापरबाहीका रूपमा लिनुपर्छ । हुन त सरकारको रेडिमेट जवाफ हुने गर्छ– ‘हामी सरकारमा आउनुभन्दा अघि यो समस्या थिएन र ?’ हो, समस्या थियोे, तर समस्या समाधानका लागि पहल गर्नुपर्ने सरकारको कर्तव्य होइन ? यसरी प्रतिप्रश्न गरेर सरकार उम्कन पाउँदैन । उकालो तथा धेरै मोडहरू भएका कारण सडक छिटो भत्कनु स्वभावकै हो, तर वेलैमा मर्मत किन गरिन्न ? जब दसैंको मुखमा सवारीसाधनको चाप अत्यधिक बढ्छ त्यसपछि मात्रै सडकका खाल्डाखुल्डी टाल्ने काम हुन्छ । जसले गर्दा थप सवारीसाधन सञ्चालनमा थप अवरोध हुने गर्छ । यो विकृतिलाई यस वर्ष पनि दोहोर्याइएको छ ।

यो सडक आजभन्दा ६ दशकअघि निर्माण भएको हो । तत्कालीन समयको राजधानी उपत्यकाको जनसंख्या, सवारीसाधनको संख्या तथा यतिवेलाको राजधानी उपत्यकाको जनसंख्या तथा सवारीसाधनको संख्यामा तुलना गर्नै नसकिने अन्तर छ । ६ दशक अघिकै पूर्वाधारको भर पर्नु भनेको सरकारमा रहनेहरूको चरम अदूरदर्शिता हो । एक दशकअघि सरकारले थानकोट–नौबिसे सुरुङ मार्ग निर्माण गर्ने निर्णय गर्यो । यो काम सम्पन्न हुन अझै कम्तीमा पाँच वर्ष लाग्ने निश्चित भइसकेको छ । यो समस्याको दीर्घकालीन समस्याका लागि सुरुङ मार्गबाहेक अरु सजिला विकल्पहरू पनि छन् । उदाहरणका लागि गल्छी–त्रिशूली सडक जम्मा १७ किलोमिटर दूरीको छ । त्रिशुलीबाट काठमाडौं जोड्ने दुईवटा सडक छन् । यी दुईवटा सडकलाई स्तरोन्नति गर्ने हो भने सुरुङ मार्ग निर्माण सम्पन्न नभएसम्म यो समस्यालाई समाधान गर्न सकिन्छ । यसैगरी, रामकोट–गल्छी सडकलाई पनि स्तरोन्नति गर्न सकिन्थ्यो । त्यसैगरी, तत्कालीन समस्या समाधानका पनि उपाय नभएका होइनन् । सामान बोकेका ट्रकलाई रोकेर यात्रुलाई प्राथमिकता दिन सकिन्छ । इन्जिन खराब भएका गाडी नचलाउन आह्वान गर्न सकिन्छ । बाटोमा इन्जिन बिग्रिने अवस्था आएमा जरिवाना गर्ने र क्रेनको माध्यमबाट हटाउन सकिन्छ । दसैंभरी बालुवा, सिमेन्ट, रंग, रड आदि बोक्ने ट्रिपर र ट्रकलाई रोक लगाउने र त्यस अवधिको करमा छुट दिन सकिन्छ । राजमार्गको २५ मिटर छेउ–कुना गाडि रोक्न प्रतिबन्ध लगाउन सकिन्छ । एम्बुलेन्स बाहेकले ओभरटेक गर्न नपाइने व्यवस्था गर्न सकिन्छ । ट्राफिक तथा अन्य प्रहरीलाई तालिम तथा अधिकारसहित उल्लेख्य संख्या परिचालन गर्न सकिन्छ । यति सहज उपाय हुँदाहुँदै पनि सर्वसाधरण जनताले सास्ती बेहोर्नु दुःखद् हो । यो मामिलामा उपभोक्ताहरू पनि सचेत भएको देखिएन । उदाहरणका लागि गत साता नेपालगञ्जमा मन्त्रीले १५ मिनेट ल्पेन डिले गराउँदा त्यस्तो महाभारत मच्चाउनेहरू ७–८ घण्टा सवारी जामका कारण बिरामीले ज्यान गुमाउँदासमेत चुपचाप देखिएका छन् ।

प्रतिक्रिया