काठमाडौं । गायिका रेखा शाहले नयाँ गीत ‘बाटैमा रै’छ घर तिम्रो’ सार्वजनिक गरेकी छन् । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यस गीतमा शाहलाई गायनमा राजनराजले साथ दिएका छन् ।
गीतको भिडियोमा गोविन्द राईको कोरियोग्राफी रहेको छ । भिडियोमा मोडेल अञ्जली अधिकारी र महेश खड्काको अभिनय छ । नितिन चन्दले निर्देशन गरेको भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।
रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा १५ वर्षको उमेरमै ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीत गाएर प्रथम भएकी थिइन् । त्यसयताको २५ वर्षे यात्रामा उनले दर्जनौँ लोकप्रिय गीत गाएकी छन् ।
लोकगीतसँगै आधुनिक, पाश्चात्य, फ्युजन गीत गाएकी रेखाका आधा दर्जन गीति एल्बम सार्वजनिक भइरहेका छन् । उनले यस गीतको सार्वजनिक गरेलगत्तै कन्सर्ट गर्ने तयारी गरेको बताइन् ।
उनले गीतमा शब्द, संगीत र लयको संयोजन मिलेका गीत उत्कृष्ट बनेको जिकिर गरिन् । उनले भनिन्, ‘सबैको तालमेल मिलेकाले गीतलाई सबैले पक्कै गुनगुनाउनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’
गीतमा मौलिक शब्द प्रयोग गरेको बताउँदै संगीतकार शिवाकोटीले भने, ‘मैले प्रायः गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरेको छु । जसलाई सबै दर्शकले औधी मन पराइदिनुभयो । यस गीतमा पनि ‘दन्तैमा रैछ मोहनी’ जस्ता शब्दको प्रयोग गरेको छु । पक्कै पनि यो गीत सबैले मनपराइदिनुहुनेछ भन्ने आशा राखेको छु ।’ यो गीत संगीतकार शिवाकोटीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया