प्रतिष्ठानले ‘लोकवार्ता कोश’ निकाल्ने

काठमाडौं । नेपालमा बोलिने १२३ भाषा र १२५ जातिको लोकसाहित्य र संस्कृतिको समग्र परिचय समेटिने कोश प्रकाशित हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालको बहुसंस्कृति, भाषा तथा जातजातिका विविध विषयमा केन्द्रित रही ‘लोकवार्ता कोश’ प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवसमेतको उपस्थितिमा साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकवार्ताको प्रमुख अवयव लोकसंस्कृतिका क्षेत्रमा प्रयुक्त भाषा र प्रयोक्ताहरूको समेत परिचय आउने गरी लोकवार्ता कोश निर्माण गरिने र मूर्त तथा अमूर्त संस्कृतिको क्षेत्रमा प्रयुक्त लिखित तथा अलिखित भाषिक अभिव्यक्तिलाई अध्ययन गरी व्यवस्थित एवं वैज्ञानिक ढंगले कोशमा राखिने कुराको जानकारी दिए ।

उपकुलपति डा. जगमान गुरुङले वर्तमानमा हरेक जातिका मौलिक चिनारी झल्काउने शब्दहरू, लोकप्रचलनहरू आदिको लोप हुन थालेको हुँदा लोकवार्ता कोशमा नेपालका सातवटै प्रदेश, सतहत्तरवटै जिल्ला र सातसय त्रिपन्नवटै स्थानीय तहमा बसोवास गर्ने विभिन्न जाति र ती जातिमा प्रचलित लोकवार्तासँग सम्बन्धित भाषिक अभिव्यक्तिको अध्ययन, अनुसन्धान र अभिलेखीकरण गरिने बताए ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले आजसम्म नभएका प्राज्ञिक कामहरूको खोजी गर्ने गरी काम गरेको बताए । उनले नेपालको विविधतालाई समेटेर लोकवार्ताका क्षेत्रमा काम गर्ने उद्देश्य अनुरूप नै लोकवार्ता कोश निर्माण गर्न लागिएको जानकारी दिए ।
‘लोकवार्ता कोश’ आगामी डेढ वर्षभित्रमा तयार गरी आउँदो आर्थिक वर्षको अन्त्यमा प्रकाशन गर्ने लक्ष्य राखिएको बालसाहित्य र लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले बताए । उनले भने, ‘नेपालमा रहेका लोकवार्तालाई अभिलेखिकरण गर्दै तिनको प्रवद्र्धन तथा संरक्षणका लागि पहिलो कार्यका रूपमा लोकवार्ता कोश प्रकाशनको तयारी गरेका हौँ ।’

लोकवार्ताका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका डा. भक्त राई, डा. ध्रुव भट्टराई, प्रतिभा पुन, दिव्येश्वरी जोशी र वीरबहादुर महतोको पाँच सदस्यीय सम्पादक समूहबाट उक्त कार्यको प्रारम्भिक काम गरिने प्राज्ञ डा. नेपालले बताए । त्यसपछि डा. जगमान गुरुङ, प्रा.डा. प्रेम खत्री, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा. जीवेन्द्रदेव गिरीलगायतको विज्ञ समूहसँगको गहन परामर्शपछि यस कार्यलाई अन्तिम रूप दिइनेछ । साथसाथै डा. नेपालले आगामी छ महिनामा नेपालका सातै प्रदेश र दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोककथाहरूको संकलन गरी ‘प्रज्ञा नेपाली लोककथा’ नामक बृहत् ग्रन्थ प्रकाशन गर्ने कामको पनि थालनी भइसकेको जनाए ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागमा प्राडा. जीवेन्द्रदेव गिरी सल्लाहकार तथा विभागीय प्रमुख डा. देवी नेपाल अध्यक्ष र नर्मदेश्वरी सत्याल, प्राडा. ध्रुवकुमार घिमिरे, प्रेमनाथ अधिकारी र नन्दकृष्ण जोशी सदस्य रहेको पाँच सदस्यीय विभागीय समिति रहेको जानकारी सञ्चार विभाग प्रमुख शशी लुमुम्बुले दिए ।

प्रतिक्रिया