नेपाली कांग्रेसः इतिहासकै कठिन चौबाटोमा

विपी भन्थे, ‘राजनीतिक अर्थमा समाजवाद भनेको प्रजातन्त्र हो र त्यसमा निहित समानताको अर्थ आर्थिक समानता हो ।’ उनको यस्तो विचारको निहितार्थ हो, सामाजिक न्यायसहितको प्रजातन्त्र नै समाजवाद हो । उनी समानताको नाममा गरिबी–कंगालको वितरणलाई समाजवाद मान्दैनन् । उनी समृद्धिको वितरणमा समाजवाद देख्छन् । त्यसका लागि उनी आर्थिक वृद्धिको जोडदार वकालत गर्छन् ।

राजा महेन्द्रले निर्विकल्प घोषणा गरेको पञ्चायती व्यवस्थालाई त्यसपछिका राजा वीरेन्द्रले जनमत संग्रहमा लगे । निर्दलीय पञ्चायती व्यवस्था कायमै राख्ने कि बहुदलीय व्यवस्था स्थापना गर्ने ? भन्ने दुईवटा विकल्प रोज्न २०३६ सालमा जनमत संग्रह घोषणा गरिएको थियो । त्यसवेला हिन्दू अधिराज्यका विषयमा नेपाली कांग्रेसले के धारणा राख्ला ? भन्ने जिज्ञासा मुलुकको बौद्धिक वर्गमा थियो । त्यतिवेला मुलुकको बौद्धिक वर्गले तीनवटा अनुमान गरेको थियो ।

पहिलो थरीले मुलुकमा हिन्दूहरूको बाहुल्यता भएका कारण चुनाव जित्ने रणनीतिअन्तर्गत विपीले हिन्दू अधिराज्यकै पक्षमा आफूलाई उभ्याउने अनुमान गरेका थिए । अर्का थरीले धार्मिक स्वतन्त्रता नेपाली कांग्रेसको आदर्श भएका कारण विपी कोइराला हिन्दू अधिराज्यको खिलापमा भए पनि भोट घट्ने आशंकाका कारण यस विषयमा मौन रहने अनुमान गरेका थिए । तेस्रो थरीको अनुमान थियो– ‘विपी जस्तो लोकतन्त्रवादी नेता एकल धर्म राज्यको खिलापमा जरुर लाग्ने छन् ।’

तर जनमतसंग्रहको घोषणा भएको डेढ महिनासम्म विपीले यस विषयमा बोलेनन् । २०३६ जेठ १० गते जनमतसंग्रहको घोषणा भयो, साउन पहिलो साता विक्ली मिरर नामक अखबारलाई बोलाएर विपी कोइरालाले अन्तर्वार्ता दिए । उनले अन्तर्वार्ताका क्रममा भने–‘नेपाललाई हिन्दू अधिराज्य घोषणा गर्नु झेली कुरा हो, नेपाल हिजो पनि हिन्दू अधिराज्य थिएन, आज पनि छैन र भोलि पनि रहने छैन, नेपाल भनेको धर्म निरपेक्ष देश हो ।’ तर कांग्रेसले विपी कोइरालाको लाइन छाड्यो भन्नेहरू यतिवेला हिन्दू राज्यको पक्षमा वकालत गर्न थालेका छन् । नेपाली कांग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो भनेर व्याख्या विपीले नै गरेका हुन् ।

आखिर धार्मिक स्वतन्त्रता भन्नु र धर्म निरपेक्षता भन्नु एउटै कुरा हो । धर्म भन्ने शब्दको अर्थ पश्चिमा मुलुकहरूमा र एसियाली मुलुकहरूमा अलि फरक भएका कारण केही अन्योलता अवश्य उत्पन्न भएको छ । पश्चिमाहरू धर्मलाई निश्चित सम्प्रदायका रूपमा बुझ्छन् । उनीहरू धर्मलाई रिलिजन भन्छन् । तर हामी असल तथा परोपकारी कार्यलाई धर्म भन्छौँ । राज्य असल र परोपकारी कार्यबाट कसरी निरपेक्ष हुन सक्छ ? भन्ने कोणबाट आएका प्रश्नलाई नेपाली कांग्रेसको नेतृत्वले सकारात्मक रूपमा लिएको होला, तर धर्म निरपेक्षताको विकल्प भनेको हिन्दू राज्य हो भन्ने कोणबाट गरिएका लबीहरूप्रति नेपाली कांग्रेस सचेत हुनु जरुरी छ ।

विपीको दृष्टिकोण थियो –‘नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो । यहाँ हिन्दूहरू मात्रै छैनन् । बौद्धमार्गी, किराँतमार्गी, प्रकृति पूजक तथा इस्लाम धर्मावलम्बीहरू पनि सनातनदेखि बसोबास गर्दै आएका छन् । नेपालका आदिवासी किराँतहरू हुन् भन्ने कुरामा कसैको दुईमत छैन । कालान्तरमा हिन्दूहरूको जनसंख्या बढ्दै गयो, आदिवासी किराँतहरूको जनसंख्या त्यो अनुपातमा बढ्न सकेन ।’ विपी कोइरालाले यस विषयमा राम्रो अध्ययन गरेको देखिन्छ । उनले सुम्निमा उपन्यासमा यसको संकेत दिएका छन् । हिन्दूहरूको बाहुल्यता भयो भन्दैमा राजनीतिक स्वार्थका लागि राजा महेन्द्रले हिन्दू अधिराज्य घोषणा गरेको टिप्पणी विपी कोइरालाको थियो ।

नेपाली कांग्रेसको मुख्य नारा नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो, जुन यसको विधान, चुनावी घोषणापत्र वा उसले गर्ने सभा–समारोह तथा जुनसुकै सार्वजनिक कार्यक्रमका व्यानरमा लेखिएको हुन्छ । तर, के त्यति लेखेरमात्र समाजवादप्रति कांग्रेसको दायित्व सकिन्छ ? यस प्रश्नको उत्तर खोज्न वीपीको समाजवादको चुरो के हो ? त्यो बुझ्नुपर्छ । विपी भन्थे– ‘राजनीतिक अर्थमा समाजवाद भनेको प्रजातन्त्र हो र त्यसमा निहित समानताको अर्थ आर्थिक समानता हो ।’ उनको यस्तो विचारको निहितार्थ हो, सामाजिक न्यायसहितको प्रजातन्त्र नै समाजवाद हो ।

उनी समानताको नाममा गरिबी–कंगालको वितरणलाई समाजवाद मान्दैनन् । उनी समृद्धिको वितरणमा समाजवाद देख्छन् । त्यसका लागि उनी आर्थिक वृद्धिको जोडदार वकालत गर्छन् । २०४६ सालपछि सबैभन्दा बढी समय नेपाली कांग्रेस नै सत्तामा बस्यो । तर, विपीको समाजवादको आर्थिक पाटो अर्थात् सामाजिक न्यायलाई बिस्र्यो । परिणामस्वरूप नेपाली जनमानसमा कांग्रेस होइन, कम्युनिस्ट नै सामाजिक न्यायका हिमायती हुन् भन्ने धारणा बस्यो । यो यथार्थको अनुभूति कांग्रेसलाई नयाँ संविधान बनेपछि निर्वाचनमा पराजयपछि मात्र भयो ।

नेपाली कांग्रेसको पहलबिना वा सहमतिबेगर नयाँ संविधानमा नेपाललाई समाजवादउन्मुख भनेर लेख्न सम्भव थिएन । तर, संविधानमा भएको यस व्यवस्थाको कांग्रेस स्वयं पहलकर्ता थियो या अन्य दुई कम्युनिस्ट पार्टी ? र, फेरि यो कुन समाजवाद हो ? वीपीले भनेजस्तो वा कालमाक्र्सले भनेजस्तो ? मुलुकको हरेक राजनीतिक मोडमा निर्णयक स्थानमा रहेको यो पार्टी यतिवेला इतिहासकै कठिन चौबाटोमा उभिएको प्रतीत हुन्छ । मुलुक क्रमशः दुई पार्टी वा दुई गठबन्धनतर्फ अग्रसर भइरहेको अवस्थामा एउटा सुधारवादी लोकतान्त्रिक पार्टीका रूपमा यसको सान्दर्भिकता इतिहासमै सबैभन्दा बढी छ ।

तर, त्यसका लागि यसले आफ्नो नीति र नेतृत्वमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ, किनकि विगतको जस्तो अंकगणितीय खेल र प्रतिस्पर्धीको विभाजनमा आफ्नो अवसर खोज्ने सोचले अब काम गर्नेवाला छैन । आजको बहुदलीय लोकतन्त्रमा एउटा सामाजिक न्यायको तरफदारी गर्ने उदार लोकतान्त्रिक विकल्पको यो मुलुकमा राम्रै स्थान हुन सक्छ । अतः विपीको विचारमा अन्तर्निहित सामाजिक न्यायसहितको लोकतान्त्रिक सोचलाई समय सान्दर्भिक ढंगले परिमार्जन र व्याख्या गर्दै स्पष्ट वैचारिक धार बनाउनु आवश्यक छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं विपीपुत्र शशांक कोइराला र भतिज एवं केन्द्रीय सदस्य शेखर कोइरालालाई भू–राजनीतिक शक्तिले हिन्दूत्वको एजेन्डा बोकाइदिएको छ । तिमीहरूलाई पार्टी सभापति र प्रधानमन्त्री बनाऔँला भनेर आश्वासन पाएर वा बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल, शंकर अधिकारीसहितले पार्टीको केन्द्रीय समितिमै हिन्दू राष्ट्र बनाउने एजेन्डा समावेश गर्न दबाब दिइरहेको सन्दर्भ रोचक र घोचक छ । विपीको पारिवारिकमात्र होइन, वैचारिक विराशत बोकेको दाबी गर्ने विपीपुत्र वा भतिज हिन्दूत्वको सारथी बन्न तम्तयार देखिएका छन् । विपीको नाम जोडेर कर्पोरेट हिन्दूत्वको एजेन्डा एउटा विशिष्ठ भू–राजनीतिक परिस्थितिमा कांग्रेसभित्र पसेको छ ।

हिन्दूत्वको एजेन्डामा सभापतिका रूपमा विपीपुत्र शशांक वा भतिज शेखर कोइरालाको उदय भयो भने नेतृत्व कोइराला परिवारबाहिर आउन लामो समय लाग्न सक्छ, नयाँ पुस्ता बीचतिरै अलमलिएर अवकाशमा जान्छ । हिजो कोइरालाको नेतृत्वमा थुप्रै क्षमतावान् नेता पेन्डुलम भएर बसे, आजको पुस्ताको हविगत पनि त्यही हुन्छ । विपीका छोरा वा भतिजको रूपमा वैधता दिन समाज तयार हुनसक्छ, यो रोचक र घोचक नै मान्न सकिन्छ । विपी विचारका शशांक वा शेखर विपी विचारमा सशक्त जाग्लान् वा भाग्लान् ? अहिल्यै भन्न सकिन्न । तर, हिन्दूत्वको एजेन्डा कांग्रेसभित्र स्थापित गरी पुनः स्थापित हुने जुन चलखेल भइरहेको छ, त्यसको मतियार विपीपुत्र वा भतिज हुन सक्लान् ? गम्भीर प्रश्न खडा भएको छ, जसको निर्णय भविष्यको गर्भमा रहेको छ ।

प्रतिक्रिया