नाम्खा संगमको तयारी उच्च

हुम्ला । कर्णालीको अति नै पर्यटकीय गाउँपालिकाको नामले चिनिने नाम्खा गाउँपालिकाले पर्यटन क्षेत्र प्रचारको लागि नाम्खा संगम नामक महोत्सवको तयारीमा लागेको छ । ६ र ७ असोजमा भव्य प्रचारप्रसारको साथमा महोत्सवको आयोजना गर्न लागिएको हो । भौगोलिक हिसाबले नेपालकै ठूलो गाउँपालिकामा अहिलेको पर्यटकको आवागमनलाई अझ उच्च बनाउनका लागि गाउँपालिका लागिपरेको छ ।

गाउँपालिकाको कला, संस्कृति, पर्यटकीयस्थल, जडीबुटी, संरक्षित लोपोन्मुख जंगली जनावरको बारेमा जानकारी दिनका लागि यो महोत्सव अति नै उपयोगी सावित हुने जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले बताए । एक पत्रकार सम्मेलनको आयोजना गरी नाम्खा गाउँपालिकाको अति नै पर्यटकीय क्षेत्र याल्वाङ चौरमा सञ्चालन हुन लागेको महोत्सवमा गाउँपलिकामा रहेका कला कौशल सहितको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने तयारी गरिएको छ ।

सिमकोट अन्य गाउँरपालिकाबाट महोत्सव भर्नका लागि आउने आन्तरिक र बाह्य पर्यटकका लागि वडा–२ मा रहेको ढाँड केर्मीबाट गाडीको समेत व्यवस्था गरिएको छ । कार्यक्रम उद्घाटनको लागि जिल्लास्थित सञ्चारकर्मी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई समेत निम्तो दिइएको छ ।

नाम्खाबाट चीनमा रहेको कैलाश र मानसरोवरको दर्शन गर्न सकिने लिमी लाप्चा खण्डमा पनि गाउँपालिकाले पु¥याई यसको प्रचारप्रसार गर्ने भएको छ । सञ्चारकर्मीमार्फत नाम्खाका विभिन्न पर्यटकीयस्थल, त्यहाँको कला संस्कृतीलाई विश्वव्यापी रूपमा पु¥याउन आपूm सफल हुने अध्यक्ष विष्णु लामाको विश्वास रहेको छ ।

‘पर्यटकीय क्षेत्र अथाह छ, अति नै मनमोहक कला, संस्कृति र स्थान हामीसँग रहेका छन् । यसअघि सीमित क्षेत्रमा पर्यटकको आवागमन भएको छ । सीमित वर्ग मात्र यसबाट लाभान्वित भएका छन् । अब गाउँपालिका समग्र जिल्ला, प्रदेश र देशको आकर्षणको केन्द्रविन्दु बनाउनतर्फ विभिन्न योजनाको साथमा लागेको छ, यसका लागि सबै पक्षको आवश्यक सहयोगको खाँचो हामीले गरेका छौँ’, अध्यक्ष लामाले बताए ।

यसपटकको महोत्सवमा बुद्ध धर्मावलम्वीको अति नै पवित्रस्थल याल्वाङस्थित नाम्खाख्योङजोम गुम्बा नजिक रहेको याल्वाङ चौरमा आयोजना गर्न लागिएको हो । हुम्ला जिल्लाका बासिन्दाले चीनका वासिन्दालाई नुनसँग अन्न बाली साट्ने अति नै ऐतिहासिक ठाउँ याल्वाङ चौरको ऐतिहासिक पृष्ठभूमिसमेत पर्यटकलाई जानकारी दिनसमेत यो महोत्सव सहयोगी हुने देखिएको छ । हरेक वर्ष महोत्सवको माध्यमबाट गाउँपालिकाको पर्यटकीयस्थलको प्रचारप्रसार गर्नका लागि गाउँपालिकाले आयोजना गर्दै आएको छ ।

गत वर्ष लिमीको हल्जी गाउँमा भएको आयोजनाबाट यो वर्ष ४५ प्रतिशत पर्यटक थपिएको गाउँपालिका स्रोतले जनाएको छ । आन्तरिक र बाह्य पर्यटकलाई समेत त्यस्ता खाले कार्यक्रमले सहयोग गरिरहेको छ । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इसिमोडले प्राविधिक तथा आर्थिक सहयोग गरेको भएता पनि महोत्सवलाई व्यवस्थित गर्नका लागि गाउँपालिकाले नै ३५ लाखको बजेट समेत यस क्षेत्रमा विनियोजन गरेको छ । यही आवमा पालिकाको बजेट पर्यटक भित्र्याएर आम्दानी गर्न नसकेता पनि यो दीर्घकालीन लगानी भएको कारण यसबाट पछिल्लो पुस्ताले मनग्य आम्दानी लिन सक्नेमा गाउँपालिका लागिपरेको छ ।

महोत्सवमा चीनको पुराङ काउन्टीका स्थानीय प्रशासनको उपस्थिति हुनेसमेत भएकोले सीमा क्षेत्र र व्यापारिक हिसाबले नाम्खा गाउँपालिकासँग चीनको सम्बन्ध सुधारले हुम्ला जिल्लाले नै यसको लाभ लिन सक्ने सम्भावना रहेको छ । ‘पर्यटकीयस्थलसम्मको सडकको अवस्था सुधारसहित क्याम्प व्यवस्थापन, होम स्टे प्रवर्धनका लागि तालिम लगायतको कार्यमा गाउँपालिकाको ध्यान केन्द्रित भएको छ, आगामी दिनमा कसरी सहज तवरले पर्यटकलाई भ्रमणको व्यवस्था मिलाउने भन्नेमा हामी चिन्तित छौँ’, अध्यक्ष लामाले बताए । देशकै उच्च भेगमा फल्ने जैविक अन्न बाली आलु र नाफल (उच्च हिमाली भेगमा फल्ने गहुँको प्रजाति) को समेत अन्त कतै खेती नहुने भएको कारण पनि नाम्खा गाउँपालिका प्रसिद्ध रहेको छ ।

प्रतिक्रिया