संविधान दिवसमा रचनात्मक काम

बुटवल । प्रदेश–५ सरकारले संविधान दिवसमा तीन दिन रचनात्मक कामहरू गर्ने भएको छ । आन्तारिक मामिला तथा कानुन मन्त्रालय प्रदेश–५ ले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी संविधान दिवस २०७६ को अवसरमा तीन दिन रचनात्मक कामहरू गर्ने बताएको हो ।

मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले २ असोजमा प्रदेश राजधानीका मुख्य चोकमा राष्ट्रिय झण्डा राख्ने, मुख्य चोकहरूमा सरसफाइ गर्ने र सरसफाइलाई डेंगु रोग विरुद्धको सचेतना अभियानको रूपमा लैजाने बताए । त्यसैगरी तीन गते बिहान सात बजे राजमार्ग चौराहबाट झाँकी सहितको ¥याली गर्ने र सोही दिन प्रदेशका सबै सरकारी कार्यालयमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको उनले बताए ।

संविधान दिवसकै अवसरमा ४ असोजमा बुटवल र भैरहवामा रक्तदान गर्ने, लुम्बिनीमा वृक्षरोपण गर्ने कार्यक्रम पनि प्रदेश सरकारको रहेको छ । संविधान दिवसका कार्यक्रममा बुटवल उपमहानगरपालिकाले सहयोगीको भूमिका खेल्नेछ । पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले र्यालीमा सहभागी मध्ये उत्कृष्टलाई नगदसहित पुरस्कृत गर्ने बताए ।

र्यालीमा सहभागी मध्ये प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुने दुई समूहलाई नगद २० हजार र तृतीय हुने दुई समूहलाई नगद १०/१० हजार प्राप्त गर्नेछन् । प्रदेश सरकारले माघी पर्व, प्रदेश दिवस, गणतन्त्र दिवस र संविधान दिवस मनाउन कुल २० लाख बजेट विनियोजन गरेकोमा त्यसै रकमबाट संविधान दिवसमा रकम खर्च गर्ने प्रदेश सरकारले बताएको छ ।

प्रतिक्रिया