असार मसान्तमै गर्नुपर्ने भुक्तानी अझै भएन

दार्चुला । गत आवमा सम्पन्न शैल्यशिखर नगरपालिकाका अधिकांश विकास निर्माणका योजनाको भुक्तानी हुन सकेको छैन । गत आव ०७५/७६ मा सम्पन्न विकास निर्माण योजनाको भुक्तानी हुन बाँकीरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार शैल्यशिखर नगरपालिकाका सबैजसो वडामा केही योजनाहरूको अन्तिम भुक्तानी गर्न बाँकी रहेको छ ।

नगरपालिकाका नौ ओटै वडामध्ये सबैभन्दा बढी वडा–९ मा ४५ ओटा योजनाको भुक्तानी हुन बाँकी रहेको छ । गत आवमा निर्माण सम्पन्न भएका ४५ ओटा योजनाको अन्तिम भुक्तानी हुन नसकेको वडा–८ का वडाध्यक्ष अजब सिंह विष्टले बताए । वडाध्यक्ष विष्टका अनुसार विकास निर्माणका योजनाहरू सम्पन्न भइसक्दासमेत नगरपालिकाले भुक्तानी रोकिदिएको छ । ‘योजना सम्पन्न भइसकेका छन्, आव सकिएको दुई महिना बित्यो, भुक्तानी दिएको छैन, वडामा हामीलाई काम गर्न समस्या छ’, वडाध्यक्ष विष्टले भने ।

यस्तै वडा–४ मा पनि १२ देखि १५ ओटा योजनाको भुक्तानी हुन नसकेको वडाध्यक्ष धनिदत्त भट्टले जानकारी दिए । वडा कार्यालयबाट नगरपालिकामा पठाइएका योजनाहरू नगरपालिकाले परिवर्तन गरेर पठाएकोले आफूहरूले असन्तुष्टी जनाउँदा योजनाकोे सम्झौता ढिलाइ भएको वडाध्यक्ष भट्टको भनाइ छ । ‘नगरपालिकाभन्दा पनि जनताको नजिक वडा कार्यालय हुन्छ, जनताका समस्या बिहान बेलुका हामीले देखिरहेका हुन्छौँ, जनताको आवश्यकता अनुसार योजना नगरपालिकामा पठायौँ, नगरपालिकाले परिवर्तन गरेर छनोट गरिदियो’, वडाध्यक्ष भट्टले भने ।

नगरपालिकाले आफ्नै ढंगले परिवर्तन गरी छनोट गरेका योजनाहरूमा पनि पछि आफूहरूले समझदारी गरी चैतमा योजनाहरूको सम्झौता कार्य सुरु गरिएको उनको भनाइ छ । एउटा योजनाको भने काम सम्पन्न गरी नसकेकाले भुक्तानी रोकिएको तर अन्य योजनाहरूको भने निर्माण सम्पन्न भइसक्दा पनि नगरपालिकाले भुक्तानी नदिएको वडाध्यक्ष भट्टको भनाइ छ ।

वडा–५ मा पनि तीन ओटा योजनाको भुक्तानी गर्न बाँकी रहेको वडा–५ का वडाध्यक्ष मदनसिंह रावलले बताए । यस वडामा स्वास्थ्य इकाइ केन्द्र, सिँचाइ पोखरी र सिँचाइ कुलोका गरी तीन ओटा योजनाको भुक्तानी हुन बाँकी रहेको वडाध्यक्ष रावलको भनाइ छ । ‘खातामा बजेट कम रहेछ, त्यही भएर भुक्तानी हुन नसकेको हो, गत आर्थिक वर्षमा बाँकी योजनाहरूको भुक्तानी गर्ने भनिएको छ’ वडाध्यक्ष रावलले भने ।
यस्तै वडा–१ मा पनि केही योजनाको भुक्तानी भने बाँकीरहेको वडाध्यक्ष भरतबहादुर खडायतले बताए । एक÷दुई योजनाको भुक्तानी बाँकीरहेको वडाध्यक्ष खडायतले बताए ।

भोल्युमभन्दा बढी भएकाले भुक्तानी दिन समस्या
सबैजसो वडाहरूमा केही योजनाहरूको भुक्तानी गर्न बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । नगरपालिकाको बजेटभन्दा बढी योजनाहरू निर्माण गरिएकाले गत आवका योजनाहरूको भुक्तानी गर्न नसकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।

गत आवमा बजेटको भोल्युमभन्दा बढी योजनाहरू निर्माण गरिएकाले भुक्तानी दिन नसकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।

खाली चेक दिइयो
शैल्यशिखर नगरपालिकाले भुक्तानी गर्ने वेला उपभोक्ता समितिहरूलाई खाली चेक दिएको उपभोक्ता समितिका अध्यक्षहरूले गुनासो गरेका छन् ।

योजना भुक्तानीका लागि नगरपालिकामा १४ दिन धाएको मौडा खानेपानी ट्यांकी निर्माण उपभोक्ता समिति अध्यक्ष जनक सिंह खत्रीले बताए । विनापैसाको चेकहरू दिएर केही दिनमै उपभोक्ता समितिहरूबाट नगरपालिकाले फिर्ता मागेको नेपाली कांगे्रसका स्थानीय नेतासमेत रहेका खत्रीले बताए ।

मछानापानी मूल संरक्षण योजना उपभोक्ता समिति जयदेव जोशीले तीन÷चार दिनसम्म नगरपालिका धाएर नगरपालिकाले ब्ल्यांक चेक दिएको बताए । नगरपालिकाले उक्त ब्ल्यांक चेक फिर्ता मागेपछि आफूले चेकको फोटो कपी राखेको उपभोक्ता समिति अध्यक्ष नगरपालिकाले दिएको चेकमा मेघा बैंकले केही पैसा छैन भनी फर्काएको, कहिले सिस्टम मिलेन, कहिले केही मिलेन भनी फर्काउने गरेको उपभोक्ता समिति अध्यक्षहरूको भनाइ छ ।

केही उपभोक्ता समिति अध्यक्षहरूले भने ऋण काढेर पनि कामदारहरूको पारिश्रमिक दिएका छन् भने केही योजनाका कामदारहरूले अहिलेसम्म पारिश्रमिक पाउन सकेका छैनन् । पतेगैर खानेपानी ट्यांकी निर्माण उपभोक्ता समिति अध्यक्ष हरदेव जोशीले नगरपालिकामा जाँदा भोली, पर्सी भन्दै झुक्याउने गरेको गुनासो गरेका छन् । विभिन्न निर्माण सामग्रीहरू खरिद गर्दा २० प्रतिशत व्याजदरमा ऋण काढेर योजना सञ्चालन गरेको उपभोक्ता समिति अध्यक्ष जोशीको भनाइ छ ।

नगरपालिकाको बाणिज्य बैंक र मेघा बैंक गरी दुई ओटा बैंकमा खाता सञ्चालनमा रहेकाले रकम खातामा सार्ने वेला रिक्त चेकको समस्या सिर्जना भएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टका अनुसार उक्त समस्या बास्तविक रहेको र एउटा खाताबाट अर्काे खातामा रकम सार्दा समस्या आएको हो । र, अन्य भुक्तानी बाँकी रहेको योजनाहरूको भुक्तानी चालु आवको बजेटबाट भुक्तानी गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।

प्रतिक्रिया