गाउँपालिका अध्यक्ष माथिको बहुविवाह मुद्दा खारेज

प्यूठान । गौमुखी गाउँपालि प्यूठानका अध्यक्ष विष्णु कुमार गिरी माथि लागेको बहुविवाह आरोपको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले खारेज गरिदिएको छ । आईतबार जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्दाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत समक्ष मुद्दा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायधिवक्ता शिवप्रसाद आचार्यले बताए । पुष्टी हुन नसक्ने आरोपकै आधारमा लामो समय हिरासतमा रहनुपर्दा सामाजिक क्षति भएको अध्यक्ष गिरीले प्रतिक्रिया दिएका छन् ।

ढिलै भए पनि मुद्दा खारेज भएकाले सामाजिक क्षति पुर्ति हुने उनले विश्वास व्यक्त गरे । उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै रहने गरी अध्यक्ष गिरीलाई हिरासत मुक्त गरिएको प्यूठान प्रहरी प्रमुख नरेन्द्र बहादुर कार्कीले जानकारी दिए । गत भदौ १० गते श्रीमति सिता केसीले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।

फेसकुक च्याटका कुराकानी र फोटोहरुको आधारमा उनले उजुरी दिएकी थिइन् । बहुविवाह नगरेको र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै भन्दै अध्यक्ष गिरी १५ भदौमा प्रहरी समक्ष स्वयम उपस्थित भएका थिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले गिरीलाई म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया